धनगढी । एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ सँग धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर जोडिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तेस्रो संस्करणसँग निसर्ग हस्पिटल प्रायोजकको रुपमा जोडिएको हो ।
स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको ‘वर्ष युवा खेलाडी’अवार्डको विधालाई निसर्ग हस्पिटलले प्रायोजन गरेको हो । अब यो विधाको नाम निसर्ग हस्पिटल वर्ष युवा खेलाडी अवार्ड रहने छ । यो विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । अघिल्ला दुई वर्ष पनि निसर्ग हस्पिटलले विधा प्रायोजन गरेर साथ दिएको थियो ।
विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष तिर्थराज पन्त र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गरे ।
स्वास्थ्य लागी खेलकुद मात्रै नभई ‘‘राष्ट्रका लागि खेलकुद र खेलकुदका लागि स्वास्थ्य’ भन्ने अभियानका साथ विभिन्न खेलकुद गतिविधीहरु तथा सामाजिक कार्यहरुमा निसर्ग हस्पिटल सकिृय रहँदै आएको र आगामी दिनहरुमा पनि सकृय रहने कार्यकारी अध्यक्ष तिर्थराज पन्तले बताए । निसर्ग हस्पिटलको साथले अवार्डलाई अझ भव्यताका साथ सम्पन्न गर्नलाई सहयोग गरेको मञ्चका अध्यक्ष सीताराम ओझाले बताए ।
धनगढी उपमहानगरपालिका–५, हसनपुर स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा पछिल्लो समय सिटीस्क्यान लगायत थप सेवाहरु पनि थपिएका छन् ।
अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह–प्रायोजकमा केल्मी र मेरो रेडिमेड उद्योग रहेको छ ।
विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।