धनगढी । तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।
धनगढीमा रहेको निजि क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड रहने भएको छ ।
देशकै सर्वाधिक धनराशीको एसपिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेजले खेलकुद क्षेत्रमा पनि अग्रसर हुदैं आएको छ । वर्षेनी एसपिए महिला मेयर कप पनि आयोजना हुदैं आएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवाश शाही बीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्रायोजनपछि बोल्दै एसपिएका निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुशी लागेको बताए । लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय शाहीले आगामी दिनमा अवार्डसँग निरन्तर जोडिएर साथ दिने प्रतिबद्धता जनाए ।
अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।
यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह प्रायोजकमा केल्मी रहेको छ ।