काठमाडौं । मोटरसाइकल रेसिङ प्रतियोगिता 'नेपाल रेसर कप २०२२' को उपाधि सन्दीप घिमिरे र राजकुमार कार्कीले जितेका छन् ।
धुलिखेलको हिमालयन मोटरल्यान्डमा शनिबार आयोजना भएको प्रतियोगितामा १५० सीसीतर्फ सन्दीप च्याम्पियन बने । यस प्रतिस्पर्धामा सुजन थापा मगर दोस्रो र महेश राना मगरले तेस्रो स्थान हासिल गरे ।
त्यसैगरी २०० सीसीतर्फ राजकुमार च्याम्पियन बन्दा विवेश श्रेष्ठ दोस्रो र भिम होनाले तेस्रो स्थान हासिल गरे ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको मोटरसाइकल रेसिङ प्रतियोगिताको १५० सीसी अन्तर्गत १५० देखि १८० सीसी सम्म र २५० सीसी अन्तर्गत २०० देखि २२० सीसी सम्मका बाइक राइडर सहभागी थिए ।
१५० सीसीमा ४८ जना र २०० सीसीमा २४ जना प्रतियोगीले भाग लिएका थिए । तीन दिनसम्म विभिन्न प्रकारको छनोट खेल पश्चात सो प्रतियोगिताको फाइनल खेल शनिबार भएको हो ।
विजेताहरुलाई नासाका प्रमुख सल्लाहकार गोविन्द भट्टराई, अध्यक्ष दशरथ रिसाल र महासचिव सुशील तण्डुकारका साथै नासाका अन्य पदाधिकारीहरु आशिष लामिछाने र सन्तोष न्यौपानेका साथै विभिन्न कम्पनीका पदाधिकारीहरु र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए ।