हेटौंडा । फिडेमास्टर क्षितीज भण्डारीले हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि जितेका छन् ।
प्रतियोगिताका सात खेलमा पाँचमा जित र दुईमा बराबरी गरेका क्षितीजले ६ अंक बनाउदै नगद ५० हजार रुपैंया समेत प्राप्त गरे ।
पाचौं तथा सातौं चरणमा क्रमशः झापाका प्रकाश नेपाल र फिडेमास्टर मनिष हमालसँग बराबरीको नतीजा आत्मसात गरेका क्षितीजले छैटौं चरणमा फिडेमास्टर रुपेश जयसवालमाथि जीत हात पारेका थिए ।
झापाका प्रकाश र धनकुटाका सुमन श्रेष्ठलाई टाईब्रेकरमा पछि पार्न सफल भएका क्यान्डिडेटमास्टर कृष्ण थापाले दोश्रो हुँदै २५ हजार नगद हात पारे । समान ५ दशमलब ५ अंक बनाएका प्रकाश तेश्रो र सुमन चौथो स्थानमा रहँदै क्रमशः १५ हजार र १० हजार नगद हात पार्न सफल रहे । फिडेमास्टर मनिष हमाल सात खेलबाट पाँच अंक बनाउँदै पाचौं स्थानमा रहेर १० हजार नगद प्राप्त गरे । त्यसैगरी समान पाँच अंक बनाएका फिडेमास्टर रुपेश जयसवाल, झापाका राजन सुवेदी र प्युठानका श्रीकृष्ण श्रेष्ठ क्रमशः छैटौं, सातौं र आठौं हुँदै सात–सात हजार नगद हासिल गरे ।
समान ४ दशमलब ५ अंक बनाएका झापाका सुश्रुत दाहाल नवौं र दोलखाका आशिष फुँयाल दशौं हुँदै सात–सात हजार नगद प्राप्त गरे । समान ४ दशमलब ५ अंक बनाउँदै धनुषाका शुसील चौधरी, तीनपटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली, चितवनका सन्तोष गौतम, काठमाडौका पुरुषोतम सिलवाल र बाराका निर्मल सापकोटा क्रमशः एघारौं देखि पन्ध्रौं स्थानमा रही पाँच–पाँच हजार नगद हासिल गर्न सफल भए ।
पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दीरा जोशी महिला खेलाडी मध्ये अब्बल हुँदै नगद ५ हजार प्राप्त गरिन भने रामेछापका बिमल सुवेदी अनरेटेडतर्फ पहिलो हुँदै ५ हजार नगद हात पारे । त्यसैगरी काठमाडौका विजय टमाटा (१०००–१२९९), रुपन्देहीका चमन गाहा मगर (१३००–१४९९), चितवनका जुनानाथ सापकोटा (१५००–१६९९) र मकवानपुरका बलराम संजेल (१७००–१८९९) रेटिङ क्याटागोरीतर्फ पहिलो हुँदै पाँच–पाँच हजार नगद हासिल गर्न सफल भए ।
नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताका विजयी खेलाडीहरुलाई बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाल खेलकुद महासंघका संगठन विभाग प्रमुख दिपेन्द्र दाहाल लगायतले पुरस्कार वितरण गरे । हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा सम्पन्न दुई दिने प्रतियोगितामा विभिन्न जिल्लाका ३ महिला समेत ५२ जना खेलाडीको सहभागीता रहेको थियो ।