काठमाडौं । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश खेलकुदका मन्त्री र सचिवसँग संयुक्त रुपमा छलफल गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले युवा तथा खेलकुद सम्बन्धि विषयगत समितिको बैठक राखेर सात वटै प्रदेशका मन्त्री र सचिवसँग संयुक्त रुपमा छलफल गरेका हुन् ।
काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा मन्त्री गहतराजले सातै प्रदेशका मन्त्री र सचिवलाई बोलाएर खेलकुद सम्बन्धि कार्यक्रम, बजेट, पूर्वाधार र कर्मचारी समायोजन लगायतका विषयमा छलफल गरेका हुन् ।
गहतराजको नीजि सचिवालयका अनुसार बैठकमा प्रदेश मन्त्रालयका सचिवले युवा तथा खेलकुद सम्बन्धि कार्यक्रम र बजेट, सो क्षेत्रमा केन्द्र तथा स्थानीय तहसँगको समन्वय र सहकार्य तथा कार्यक्रम सञ्चालनका अवसर र चुनौतीका सन्दर्भमा केन्द्रित रहेर छलफल गरेका छन् । बैठकमा प्रदेश मन्त्रालयका सचिवहरुले बुँदागत संघीय सरकार समक्ष आफ्नो प्रदेशको तर्फबाट प्रस्तुतिरकण दिएका छन् ।
यस्तै मन्त्री गहतराजले प्रदेश मन्त्रीसँग युवा तथा खेलकुद सम्बन्धि योजना, नीति, मापदण्ड तथा कानूनको तर्जुमा र कार्यान्वयन, खेलकुद पूर्वाधार व्यवस्थापन, राष्ट्रिय खेलकुद परिषद्को मानवस्रोतको समायोजन, नवौं राष्ट्रिय खेलकुद लगायत विभिन्न खेल प्रतियोगिताको व्यवस्थापन, राष्ट्रिय स्वयंसेवा नीति, युवा ऐनको परिमार्जन र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सम्बन्ध एजेण्डा सहित छलफल गरेका छन् ।
तत्काल नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने सम्भावना टरेसँगै मन्त्री गहतराजले प्रदेशका मन्त्री र सचिवसँग छलफल गरेर खेलकुद पूर्वाधार, कर्मचारी समायोजन, केन्द्र र प्रदेश सरकारबीच गर्नुपर्ने समन्वयका विषयमा संयुक्त बैठक राखेका हुन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक संघीय सरकारले प्रदेशका मन्त्री र सचिवको विषयगत समितिको बैठक राखेर छलफल गरेको हो ।