काठमाडौं । शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा विराटनगरमा सुरु भएको छ ।
मंगलबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले बाग्मती प्रदेशलाई १४–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । सेनाका रोमन रानाले ६ गोल, सुमितकुमार कामीले ५ गोल र राजेन्द्र कार्कीले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सेनाका सुमितकुमार कामी भए ।
दोस्रो खेलमा प्रदेश १ ले मधेस प्रदेशलाई १–० गोलअन्तरमा पराजित गरेको छ । खेलको एक मात्र निर्णायक गोल प्रदेश १ का कृष्ण तामाङले गरे । खेलको म्यान अफ द म्याच प्रदेश १ का नरेश थापा मगर भए ।
त्यसैगरी तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई २–० गोलमा पराजित गरेको छ । सुदूरपश्चिमका लागि दीपकराज जोशी र गणेश खगुनाले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका गणेश खगुना भए ।
चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् । ०७५ सालमा झापामा भएको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो भने ०७६ मा विराटनगरमा सम्पन्न दोस्रो संस्करणमा लुम्बिनी प्रदेश ले गण्डकीलाई फाइनलमा टाइब्रेकरमा ५–३ गालेमा पराजित गरेको थियो ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरे । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरे, नेपाल काँग्रेस प्रदेश १ का सदस्य राजेश गुप्तालगायतले शुभकामना दिएका थिए । नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेल गण्डी प्रदेश र नेपाल आर्मी, दोस्रो खेल मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश तथा तेश्रो खेल लुम्बिनी प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले बताए ।