काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत स्वर्गीय शरद चन्द्र शाहलाई दशक अवार्डको अवसरमा लाइफ टाइम एचिभमेन्ट अर्थात गोल्डेन सेल्युट अवार्ड प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव नेपाली खेलकुदको आधार तयार पार्ने श्रेय शरदचन्द्र शाहालाई जान्छ ।
२०३४ देखि २०४५ सम्म खेलकुद को ११ वर्षे शासनकालमा उनले नेपाली खेलकुदको विकासमा अनुपम र अतुलनिय काम गरे ।
राखेपको सदस्य सचिवको रुपमा शाहाले बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको थालनी, अन्तर नगर खेलकुदको आयोजना गर्नुका साथै अन्तर्राष्ट्रिय रुपमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको जन्मदाता समेत हुन ।
उनले ११ वर्षे कार्यकालमा ७५ वटै जिल्लामा कभर्ड हल र पाँच विकास क्षेत्रमा रंगशाला निर्माण गरे । जुन अहिले पनि उपयोग भइरहेका छन् ।
उनको कार्यकाललाई नेपाली खेलकुदको स्वर्णिम युग समेत भनिन्छ ।
शाहाले खेलकुद विकासका लागि ’खेलकुद कर’ उठाउन पहल गरेका थिए । जसले खेल क्षेत्र माथी उठ्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
सन् १९८८ को ओलम्पिकमा नेपालबाट १७ जना खेलाडीले सहभागिता जनाउने मौका पाएका थिए ।
उनी एसियाली ओलम्पिक कमिटीको उपाध्यक्ष पदसम्म पनि पुगे । नेपाल ओलम्पिक कमिटीको नेतृत्व पनि सम्हाले ।
सदस्य सचिव शाहको युग २०४५ सालमा दशरथ रंगशालामा घटेको फुटबल काण्ड संगै समाप्त भयो ।
कम्तिमा ७२ जना दर्शकको ज्यान जाने घटना पछि उनले पदबाट राजीनामा दिए र नेपाली खेलकुदको एक युगान्त परिवर्तनकारी शासकको खेल जीवन टुंगियो ।
शाहाको २०६९ असार ५ मा सिंगापुरमा निधन भयो ।