काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव विवादको टुङ्गो आगामी आईतबार लाग्ने भएको छ ।
सर्वोच्च अदालतको आगामी चैत १३ गते मुद्धाको पूर्ण सुनुवाई गर्ने निर्णय गरेको हो ।
‘सदस्य सचिवको विषयमा अदालतले अन्तरिम आदेश दिने-नदिने भन्ने विषयको अन्तिम टुङ्गो आगामी आईतबारको इजलासले लगाउने भएको छ ।’ अदालतका एक अधिकारीले खेलपाटीसँग भने ।
राखेप सदस्य सचिवको विवाद अदालतमा विचाराधिन छ । आफुलाई पदमुक्त गर्ने सरकारको निर्णय असंवैधानिक रहेको दाबी सहित तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालले अदालतमा मुद्धा दायर गरेका थिए । सिलवालले आफुले सदस्य सचिवको हैसियतमा काम गर्न पाउनुपर्ने माग गर्दै अर्को मुद्धा समेत दायर गरेका थिए ।
अदालतले दुवै मुद्धाको विषयमा अन्तरिम आदेश दिने÷नदिने सन्दर्भमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । तर सिलवाललाई कारबाही गर्ने निर्णय र टंकलाल घिसिङलाई नियुक्ति गर्ने सरकारको निर्णय यथास्थितीमा राख्न अदालतको आदेश थियो ।
सदस्य सचिवको मुद्धा अदालतमा सर्दै गएपछि राखेपको नेतृत्व विवाद लम्बिएको छ ।
सरकारले अर्को व्यवस्था नभएसम्मका लागि प्रशासनीक र आर्थिक अधिकार सहित कुलबहादुर थापालाई कार्यकारी सदस्य सचिवको जिम्मेवारी दिएको छ । तर राखेपको सदस्य सचिवको विवाद टुङ्गो नलाग्दा खेलकुद क्षेत्रले गति लिन सकेको छैन ।