काठमाडौं। नेपाली राष्ट्रिय महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फ्लिम ‘अन्जिला’ निर्माण हुने भएको छ ।
राजधानीमा शुक्रबार एक कार्यक्रमकाबीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्ममा अन्जिला स्वयंको मुख्य भूमिका रहनेछ ।
उनीसँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ ।
अन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए ।
तर, उनले फिल्मलाई अन्जिलाको बायोपिक भन्न नमिल्ने बताए ।
फिल्ममा अभिनय गर्न लागेकी अन्जिला अहिले मण्डल थिएटरमा अभिनय सिकिरहेकी छन् ।
फिल्ममा आफ्नोतर्फबाट सकेको काम गर्न कुनै कसर नछाड्ने उनी बताउँछिन् । उनले कसैको दबाब र प्रभावले फिल्ममा अभिनय गर्न नलागेको पनि स्पष्ट पारेकी छन् । आफ्नो जीवनीमा फिल्म बन्नु आफ्नो ठूलो उपलब्धि रहेको उनको भनाई छ ।
त्यस्तै, अभिनेता दयाहाङ राईले पहिलो पटक आफूले खेलाडीको बायोपिकमा काम गर्न लागेकोमा खुसी व्यक्त गरे ।
निर्माता प्रेम कुमार श्रेष्ठले भने अन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई फिल्मलाई देखाइने जानकारी दिए ।
१३ वर्षदेखि आन्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा-दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर अन्जिलालाई मोरङबाट काठमाडौं ल्याएका थिए ।
निर्माता श्रेष्ठले खेलकुदको विषयमा र वास्तविक पात्रले नै अभिनय गर्ने ‘अन्जिला’ पहिलो नेपाली फिल्म हुने र यो फिल्मले एउटा इतिहास बोक्ने विश्वास व्यक्त गरे । उनी यसपछि अरु खेलाडीको कथामा पनि फिल्म बनाउने सोचमा छन् ।
फिल्म घोषणा सभामा प्रमुख अतिथीको रुपमा उपस्थित भएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नु पर्ने धारणा गरे ।
विनोद अग्रवाल र राजेश अग्रवाल सह-निर्माता रहेको फिल्मको आउँदो वर्षको जेठ अन्तिमबाट छायांकन हुनेछ । यम थापाको कथा रहेको फिल्मलाई सुदीप बरालले खिच्नेछन् ।
फिल्मको घोषणा सभामा खेलकुद मन्त्री महेश्वर गहतराजसँगै खेलकुद सचिव दीवाकर रेग्मी, आइजिपी शैलेन्द्र खनाल लगायतको पनि उपस्थिति रहेको थियो ।
२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेञ्चमै सीमित भइन् ।
त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । एन्जिला 'पल्सर स्पोर्टस् अवार्ड २०७७' को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी छन् । यो विधामा मनोनयमा पर्ने एन्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।