काठमाडौं । अखिल नेपाल फुटबल संघले आसन्न केन्द्रिय निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । एन्फाको आसन्न केन्द्रिय निर्वाचनको मिति तोक्न बुधबार कार्यसमिति बैठकपनि बस्दैछ ।
यसअघि फुटबल संघको निर्वाचन जेठ १५ गते गर्ने गरि मिति तोकिएको थियो । तर फिफा र एएफसीबाट निर्वाचन निर्देशिका स्विकृत नभएको भन्दै बी र सी सहित विभिन्न संघहरुको निर्वाचन स्थगित गरिएको थियो ।
फिफा र एएफसीबाट निर्वाचन निर्देशिका स्विकृत भएसँगै एन्फाले निर्वाचनको नयाँ मिति तोक्ने तयारी गरेको हो ।
सोही अनुसार जिल्ला, क्लब र संघको निर्वाचनको नयाँ तालिका सार्वजनीक हुनेछ ।
'मुख्य एजेण्डानै निर्वाचनको हो । निर्वाचन निर्देशिका फिफा, एएफसीबाट पारित भएसँगै निर्वाचनको नयाँ मिति तोक्न बैठक बोलाईएको हो ।' एन्फा महासचिव इन्द्रमान तुलाधरले खेलपाटीसँग भने ।
यसअघिको कार्यसमिति बैठकबाट पारित निर्वाचन निर्देशिका एन्फाले फिफा र एएफसीमा स्विकृतिका लागि पठाएको थियो । तर निर्देशिका संशोधनका लागि निर्देशन आएको भन्दै एन्फाले निर्वाचनको पूर्व निर्धारित कार्यक्रमलाई स्थगित गरेको थियो ।
एन्फाको पुस २३ गते सम्म कार्यसमिति बैठकले फागुन १५ देखि ३० गतेसम्म जिल्ला, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला संघको र चैत १ देखि १० सम्म बी, सी डिभिजन क्लब र प्रदेश फुटबल संघको र जेठ १५ गते केन्द्रिय निर्वाचनको मिति तय गरेको थियो ।
संशोधित निर्देशिका अनुसार एन्फाको निर्वाचनको समय केही पर धकेलिन सक्ने एन्फाका एक अधिकारीले बताएका छन् । त्यसको औपचारिक निर्णय बुधबारको केन्द्रिय कार्यसमिति बैठकले लिनेछ ।