काठमाडौं । एन्टी डोपिङ सम्बन्धि १७ औं एसिया / ओशिनिया क्षेत्र अन्तर सरकारी मन्त्री स्तरीय बैठकमा सहभागी भएर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज स्वेदश फर्किएका छन् ।
बैठकमा सहभागी हुन दुबई पुगेका मन्त्री गहतराज बुधबार बिहान स्वदेश फर्किएका हुन् ।
दुबईमा रहदा मन्त्री गहतराजले नेपाली खेल क्षेत्रको विकासकाबारे दुबईमा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गरेका थिए ।
उनले दुबईको खेलकुद प्राधिकरणका अध्यक्ष डा अहमत बेलहौल अल फलासी, विश्व एन्टी डोपिङ एजेन्सी वाडाका अध्यक्ष विटोल्ड बांका र एसिया ओलम्पिक काउन्सिल (ओसीए) का महानिर्देशक हुसेन ए एच जेड अल मुसलामसँग भेटवार्ता गरेका थिए ।
मन्त्री गहतराजले भेटवार्ताका क्रममा नेपालले एन्टी डोपिङको क्षेत्रमा गरेका कामको बारेमा जानकारी गराउदै एन्टी डोपिङमा नेपालको क्षमता वृद्धिमा सघाउन अनुरोध गरेका थिए । उनले नेपालको खेल क्षेत्रको समग्र विकासमा सघाउन समेत अन्तराष्ट्रिय समुदायसँग अपिल गरेका थिए ।
मन्त्री गहतराजको भ्रमण टोलीमा मन्त्रालयका सचिव डा दामेदर रेग्मी समेत सहभागी थिए । खेलकुद मन्त्रालयका अधिकारीले मन्त्री गहतराज सहितको नेपाली भ्रमण टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।