एजेन्सी । वेष्ट इण्डिजका युवा खेलाडी सिम्रन हिट्मायर आफ्नो ब्याटिङसँगै आफ्नो फेसन, मुख्यतय कपालको कारण बेला बेला चर्चामा आइरहेका हुन्छन् ।
राजस्थान रोयल्समा आबद्द भएका वेष्ट इण्डिजका हार्ड हिटर ब्याटर हिट्मायर यस पटक आफ्नो कपालमा पिंक रङ लगाएका छन् ।
आगामी सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न भारत आईपुगेका हिट्मायरले आफ्नो टिम राजस्थानको जर्सीसँग मिल्ने रङ कपालमा लगाएर भारत आएका हुन् ।
आइतबार राजस्थान रोयल्सले सामाजिक संजालमा हिट्मायरको एक तस्बिर सार्वजनिक गरेको छ जसमा हिट्मायरले आफ्नो कपाल पिंक कलर गरेर आईपीएलको लागि भारत आइपुगेका छन् ।
२५ वर्षे ब्याटर हिट्मायरको लागि राजस्थानले सामाजिक संजालमा स्वागत गर्दै 'माया कपालमै छ ! घरमा स्वागत छ ।' भन्दै हिट्मायरको नयाँ लुक्स सार्वजनिक गरेको छ ।
हिट्मायर आक्रामक ब्याटिङका लागि परिचित छन् । उनलाई गत महिना राजस्थानले आगामी सिजनको लागि ८ करोड ५० लाखमा मेगा अक्सनबाट अनुबन्धन गरेको थियो । यसअघि हिट्मायरले दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।
हिट्मायरले सन् २०२१ को सिजन १४ खेलमा १ सय ६८ को स्ट्राइक रेटमा २ सय ४२ बनाएका थिए ।
गत सिजन पछिल्लो ब्याटरको रुपमा ब्याटिङ गरेका हिट्मायरले केहि ठुला र आक्रामक इनिङ खेल्दै दिल्लीलाई जित दिलाएका थिए । रोयल च्यालेंजर्स बैंगलोरविरुद्ध उनले २५ बलमा अविजित ५२ रन प्रहार गरेका एक सम्झन लायक एक खेल हो ।