नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

काठमाडौं। नेपाली क्रिकेट समर्थकका लागि बहुप्रतीक्षित क्रिकेट सिरिजको घोषणा भएको छ।
नेपालले आगामी डिसेम्बरमा भारतको ‘ए’ टोलीसँग तीन खेलको टी-२० सिरिज खेल्ने भएको हो।
तीनवटै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्। सिरिजअन्तर्गत पहिलो टी-२० खेल डिसेम्बर ९ मा हुनेछ। दोस्रो खेल डिसेम्बर ११ र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३ मा खेलिनेछ।
स्कटल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को सम्मेलनका क्रममा भएको उच्चस्तरीय भेटवार्तापछि सिरिज निश्चित भएको हो।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजित सैकियाबीच भएको छलफलले सिरिज आयोजनाको बाटो खोलेको बताइएको छ।
भारतको ‘ए’ टोलीसँगको यो सिरिज नेपाली राष्ट्रिय टोलीका खेलाडीका लागि उच्चस्तरीय प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर बन्ने बताईएको छ।















