सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अल्ट्रा धाविका सुनमाया बुढालाई सम्मान गरेका छन् ।
मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले मायाको चिनोसहित अल्ट्रा धाविका बुढालाई सम्मान ग।ेका हुन् ।
सो अवसरमा मन्त्री पोखरेलले विश्वस्तरका खेलकुद प्रतियोगितामा नेपाली खेलाडीहरूले हासिल गरेको सफलताले नेपालको पहिचान र गौरव बढाएको बताए ।
उनले खेलाडीहरूको सफलताले राष्ट्रिय एकताको भावना बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
शिक्षामन्त्रीबाट सम्मान ग्रहणपछि अल्ट्रा धाविका बुढाले यस सम्मानबाट आफूलाई थप हौसला र ऊर्जा प्राप्त भएको बताईन् ।
जुम्ला पातारासी गाउँपालिकाकी अल्ट्रा धाविका बुढाले हालै इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी थिईन् ।
इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको प्रतियोगितामा सुनमायाले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गरेकी हुन् ।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यञ्जनकार, राखेप सदस्य सचिव रामचरित्र मेहेता, बोर्ड सदस्यहरु सिक्का सुवाल, पवन शाही, सुनमायाकी म्यानेजर प्रीति खत्री लगायत उपस्थित थिए ।















