बागमती अटो जिमखाना प्रिक्स अगस्ट २९ मा

काठमाडौं। बागमती अटो जिमखाना प्रिक्सको दोश्रो संस्करण आउँदो अगस्ट २९ (भाद्र १३ गते) आयोजना हुने भएको छ।
गत वर्षबाट बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा सुरु गरिएको सो इभेन्ट नेपाली मोटरस्पोर्टस्को एउटा ऐतिहासिक इभेन्टका रूपमा परिचित छ। जसको पहिलो संस्करणका विजयी आशीष भारती अन्तर्राष्ट्रिय रूपमा समेत नेपाली मोटरस्पोर्टस्को सर्वाधिक सफल खेलाडी बन्न सफल भएका छन्।
एक्सट्रिम इनर्जिको मुख्य प्रायोजन तथा लिक्वी मोलि लुब्रिकेन्टसको प्रायोजन रहने यस संस्करण अक्सफोर्ड ड्राइभिङ ट्रेनिङ सेन्टर, लोलाङ, तारकेश्वरमा हुनेछ।
यस पटकको संस्करण विजयीले हङकङ या भारतमा हुने एसिया अटो - जिमखाना च्याम्पियनसिप ( एएजिसि) मा सहभागिताको अवसर पाउनेछन्। उत्कृष्ट २ ड्राइभरलाई एएजिसिमा सहभागी हुन अवार्ड स्वरूप कुल ७५ हजार नगद एएजिसिका आयोजकद्वारा तथा खेल सामग्री र अन्य सहयोग एफआईए र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोगमा प्रदान गरिनेछ।
कुल दुई लाख प्राइज पुल रहेको प्रिकसका विजेतालाई ट्रफिस, सर्टिफिकेट तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। प्रिक्सका सबै खेलाडीको खेल बिमाको व्यवस्था, रेसिङ सुट र टेक्निकल ट्रेनिङ नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) बाट उपलब्ध गराइनेछ। ९ हजार ९९९ दर्ता शुल्क रहेको यस प्रिक्समा जुनसुकै सिसीका कारमार्फत भाग लिन सकिनेछ भने न्यूनतम १० जनाको रजिस्ट्रेसन भए महिलाको छुट्टै इभेन्ट हुनेछ।
नासा नेपालको रेसिङ लाइसेन्स लिएका खेलाडीले फर्म भर्न सक्नेछन् भने रेसिङ लाइसेन्स नभएका तर अन्य आवश्यक प्रकिया पूरा गरेकालाई भने एक दिने लाईसेन्सिङ्ग कोर्स निःशुल्क उपलब्ध हुनेछ। लाइसेन्स नभएका तथा लाइसेन्स सस्पेन्ड भएकाले भने प्रिक्समा भाग लिन पाउने छैनन्। सहभागीहरू कुनै पनि संघ-सस्था या कर्पोरेट क्षेत्रबाट सहभागी हुनु पर्नेछ।
कलात्मक रूपमा डिजायन गरिएको सर्ट सर्किटमा हुने जिमखाना स्पिड, टेक्निक र आर्टको संयोजन हुने खेल हो। जहाँ नासा नेपालले दक्ष मार्सल, टायमिङ्ग सिस्टम र सुरक्षाको व्यवस्थापन गरिनेछ। ड्राइभरको दक्षता र गाडीको कन्डिसन, चालकको पकड र खेलाडीको अनुशासन तथा ट्र्याक नेभिगेसन विजयको मुख्य आधार हुन्।
कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्न यदुराज लामिछाने, आशिष् रौनियार र अंकित भण्डारी रहेको कार्यदल गठन गरिएको छ। यो कार्यदलले यस वर्षको मोटरस्पोर्ट्सको इभेन्ट र अन्तर्राष्ट्रिय सहभागिताको समेत व्यवस्थापन गर्नेछ।
आगामी शुक्रबारसम्म दर्ता खुल्ला रहेको जानकारी आयोजक समूहमा जनाएको छ। नेपालमा मोटर र मोटरसाइकल, मरिन स्पोर्ट्स र ड्रोन समेतको सम्पूर्ण इन्जिनियरिङ र मेकानिकल स्पोर्टस्को राष्ट्रिय संघ नासा नेपालको वार्षिक क्यालेन्डर अन्तर्गत यस इभेन्ट रहेको छ।














