तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ दोस्रो साता

काठमाडौं। तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करण जेठ १४ र १५ गते काठमाडौंमा हुने भएको छ।
प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो। आयोजकका अनुसार प्रतियोगिताले नेपालमा साहसिक आरोहण खेल को प्रवद्र्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिँदै आएको हो।
प्रतियोगितामा सहभागिताका लागि आवेदन फारम जेठ १२ गतेसम्म खुला रहने छ। फारम ठमेलस्थित एस्ट्रेक क्लाइम्बिङ वाल तथा गैरीधारास्थित नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनको कार्यालयबाट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपाली तथा विदेशी दुबै आरोहीहरूले सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगितामा पुरुष तथा महिला गरी छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा हुनेछ। दुबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुलसिङ गुरुङका अनुसार जेठ १४ गतेका दिन बिहान ९ बजेदेखि सुरु हुने उद्घाटन कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा प्रमुख अतिथि रहने छन्। यस्तै, मे १५ गते हुने फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पाको उपस्थिति रहनेछ।
हालसम्म २२ जना पुरुष र १० जना महिला आरोहीहरूले नाम दर्ता गराइसकेको गुरुङले जानकारी दिए। यस वर्ष करिब ४० पुरुष र १५ महिला सहभागी हुने अपेक्षा गरिएको उनले बताए।
















