नेपालले जति दिएको छ, त्यसको बदलामा मैले केही दिन सक्दिनँ : अल्मुताइरी

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालप्रति आफ्नो माया र आत्मीयता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपालले आफूलाई दिएको योगदान आफूले कहिल्यै फिर्ता गर्न नसक्ने बताएका छन्।
‘नेपालले मलाई जति दिएको छ, त्यसको बदलामा मैले कहिल्यै केही दिन सक्दिनँ। जीवनले जहाँ पुर्याए पनि र परिस्थितिले जस्तोसुकै मोड लिए पनि एउटा सत्य कहिल्यै परिवर्तन हुने छैन, नेपाल मेरो लागि सबैथोक हो,’ उनले लेखेका छन्।
कुवेतका प्रशिक्षक अलमुताइरीले सन् २०२१ देखि २०२२ सम्म नेपाली टोली हेरेका थिए। उनको प्रशिक्षणमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्दै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गरेको थियो। तर, हालका फिफाबाट निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसँगको टसलपछि उनले राजीनामा दिएका थिए।
तर, उनले सामाजिक सञ्जालमा नेपाली फुटबललाई भने बिर्सिन सकेका छैन। ‘नेपालले सधैं एउटा विशेष स्थान ओगटिरहनेछ, जुन स्थान कसैले कहिल्यै खोस्न सक्दैन,’ उनी भन्छन्।
अल्मुताइरीले अन्त्यमा नेपालका लागि प्रार्थना गर्नसमेत आग्रह गरेका छन्।











