अस्ट्रेलिया आठौँ पटक टी–२० विश्वकपको फाइनलमा

काठमाडौं। वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया आठौँ पटक आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। ओभलमा सम्पन्न खेलमा अस्ट्रेलियाले उत्कृष्ट बलिङ र बेथ मुनीको सानदार अर्धशतकको मद्दतले सहज जित दर्ता गर्यो।
१२६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले सुरुमै फर्ममा रहेकी एलिस पेरीलाई २ रनमा चोटका कारण गुमायो। टोलीले ४३ रनमै दुई विकेट गुमाए पनि त्यसपछि बेथ मुनीले इनिङ्स सम्हालिन्। उनले ३६ बलमा ८ चौकासहित अविजित ६१ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई सहज जिततर्फ डोर्याइन्।
यो अर्धशतकसँगै मुनीले महिला टी–२० विश्वकप इतिहासमा न्यूजिल्यान्डकी महान ब्याटर सुजी बेट्सको सर्वाधिक आठ अर्धशतकको कीर्तिमान बराबरी गरेकी छन्।
दोस्रो विकेटका लागि मुनी र एश्ली गार्डनर (२० बलमा अविजित ३५ रन) ले ३७ बलमा अविजित ६३ रनको साझेदारी गरे। त्यसकै बलमा अस्ट्रेलियाले केवल १३ ओभरमै लक्ष्य पूरा गर्दै फाइनल यात्रा सुनिश्चित गर्यो।
यस प्रभावशाली जितसँगै साविक विजेता अस्ट्रेलिया महिला टी–२० विश्वकपको सातौँ उपाधि जित्ने लक्ष्यबाट अब एक कदम मात्र टाढा पुगेको छ। जुलाई ५ मा लर्ड्समा हुने फाइनलमा अस्ट्रेलियाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। फाइनलमा उसको प्रतिद्वन्द्वी इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुने दोस्रो सेमिफाइनलको विजेता हुनेछ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले सुरुआत राम्रो गरे पनि पावरप्लेपछि अस्ट्रेलियाली स्पिनरहरूको कसिलो बलिङसामु टिक्न सकेन। मध्यक्रम १२ रनको अन्तरमा चार विकेट गुमाउँदै धराशायी भएपछि क्यारेबियन टोली दबाबमा परेको थियो।
खेलअघि अचानक अस्वस्थ भएकी अनुभवी ब्याटर डिएन्ड्रा डोटिन फिट भएर आठौँ नम्बरमा ब्याटिङ गर्न उत्रिइन्। उनले अन्तिमतिर १६ बलमा २६ रनको आक्रामक इनिङ्स खेल्दै टोलीलाई १२५ रनसम्म पुर्याइन्। कप्तान हेइली म्याथ्युजले टोलीका लागि सर्वाधिक ३० रन जोडिन्।
अस्ट्रेलियाका स्पिनरहरूले खेलभर वेस्ट इन्डिजका ब्याटरहरूलाई नियन्त्रणमा राखे। अफस्पिनर एश्ली गार्डनरले चार ओभरमा केवल १३ रन खर्चेर दुई विकेट लिइन्, जसमा एक मेडन ओभर पनि समावेश थियो। लेगस्पिनर जर्जिया वेयरह्याम र बायाँहाते स्पिनर सोफी मोलिनेक्सले पनि समान दुई–दुई विकेट हात पारे।














