मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य
काठमाडौं। मोरक्कोको लगातार ३४ खेलसम्म कायम रहेको अपराजित यात्राको अन्त्य भएको छ।
२०२६ फिफा विश्वकपको पहिलो क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
खेलको पहिलो हाफमा मोरक्कोका गोलरक्षक यासिन बुनुले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सको पेनाल्टी बचाएका थिए। तर दोस्रो हाफमा फ्रान्सको तीव्र आक्रमण रोक्न मोरक्को असफल भयो।
खेलको दोस्रो हाफमा कप्तान किलियन एमबाप्पेले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहारमार्फत फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि फ्रान्सले खेलमाथिको नियन्त्रण थप बलियो बनायो।
एमबाप्पेको उत्कृष्ट पासमा उस्मान डेम्बेलेले पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गरेका थिए। धेरै शक्तिशाली नभए पनि उक्त बल मोरक्कोको रक्षापंक्तिलाई छल्दै गोलपोस्टको दायाँ तल्लो कुनाबाट जाली चुम्न सफल भयो।
२–० को जितसँगै फ्रान्सले सहज रूपमा सेमिफाइनल यात्रा तय गर्यो। यस हारसँगै मोरक्कोको लगातार ३४ खेलसम्म कायम रहेको ऐतिहासिक अपराजित यात्रा पनि समाप्त भएको छ।












