विश्वकपबाट बाहिरिएपछि सेनेगल प्रशिक्षक बर्खास्त

काठमाडौं। सन् २०२६ को फिफा विश्वकपको अन्तिम ३२ बाट बाहिरिएपछि सेनेगलले मुख्य प्रशिक्षक पापे थियोलाई पदबाट बर्खास्त गरेको छ।
डिसेम्बर २०२४ देखि सेनेगलको राष्ट्रिय टोली सम्हाल्दै आएका थियोको प्रशिक्षणमा टोलीले विश्वकपको सुरुवाती दुई खेलमा फ्रान्स र नर्वेसँग पराजय बेहोरेको थियो।
समूह चरणको अन्तिम खेलमा इराकलाई ५–० ले पराजित गर्दै सेनेगल उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये अन्तिम स्थान हात पारेर नकआउट चरणमा पुगेको थियो।
अन्तिम ३२ को खेलमा सेनेगलले बेल्जियमविरुद्ध २–० को अग्रता बनाए पनि अन्तिम समयमा दुई गोल खायो। अतिरिक्त समयमा पेनाल्टीमार्फत थप गोल बेहोरेपछि सेनेगल नाटकीय रूपमा ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
विश्वकपबाट बाहिरिएपछि मिडफिल्डर पापे गुएयेले वर्तमान टोली जिम्मेवारीमा रहँदासम्म सेनेगलका लागि खेल्नबाट केही समय विश्राम लिने बताएका थिए।
सेनेगल फुटबल महासंघले राष्ट्रिय टोलीको खेल नतिजा र भविष्यबारे विस्तृत समीक्षा गरेपछि सेनेगली फुटबलको हितका लागि प्रशिक्षक थियोलाई हटाउने निर्णय गरिएको जनाएको छ।
सेनेगल सन् २०२५ को अफ्रिका कप अफ नेसन्सको उपाधि खोस्ने अफ्रिकी फुटबल महासंघको निर्णयविरुद्ध अपिल गरिरहेको अवस्थामा विश्वकपमा सहभागी भएको थियो। उक्त विवादमा प्रशिक्षक थियो मुख्य पात्रमध्ये एक थिए।
गत जनवरीमा मोरक्कोविरुद्धको अफ्रिका कप अफ नेसन्स फाइनलमा इन्जुरी समयमा मोरक्कोलाई पेनाल्टी दिइएपछि थियोले आफ्ना खेलाडीलाई मैदानबाट बाहिर बोलाएका थिए।
करिब १७ मिनेटको अवरोधपछि सेनेगलका खेलाडी मैदानमा फर्किएका थिए। त्यसपछि ब्राहिम डियाजको पेनाल्टी बचाइएको थियो भने पापे गुएयेले अतिरिक्त समयमा निर्णायक गोल गर्दै सेनेगललाई उपाधि दिलाएका थिए।












