कोहलपुर माइलमा समिर र चेतना बने विजेता

बाँके । एम्स वन ग्लोबल माइल अन्तर्गत शनिवार भएको कोहलपुर माइल (१ दशमलव ६ किमी) दौडमा समिर बस्नेत र चेतना बस्नेत च्याम्पियन बनेका छन् ।
उदाउँदो सहर कोहलपरमा भएको पहिलो अन्तर्राष्ट्रिय संस्थासँग आवद्धता प्राप्त प्रतियोगिता कोहलपुर माइलमा स्कुल स्तरीय छात्रतर्फ समिर पहिलो हुँदा सुगम चौधरी दोस्रो, करण सिकर्मी तेस्रो र सन्देश बुढाथोकी चौथो भए ।
स्कुल स्तरीय छात्रातर्फ चेतना अग्रस्थानमा आउँदा सलिना थारु दोस्रो, नियुक्ती गुरुङ तेस्रो एन्जल सुनार चौथो भए ।
कोहलपुर खुल्ला मैदानदेखि सुरु भई नेपालगन्ज मेडिकल कलेजको गेटसम्म पुगेर पुनः सोही रुट हुँदै खुल्ला मैदानमै सम्पन्न भएको किड्स रन गल्र्स (८ देखि १२ बर्ष उमेर समुह) तर्फ मान्वी चौधरी, बिपना बुढा, नबिना थापा र ग्रीष्मा शाही तथा किड्स छात्र (८ देखि १२ बर्ष) सम्म समुहमा मिलन कैला, अब्दुल्लाह खान, अमृत बिक र दिनेश कैला शीर्ष चार स्थानमा आए । विजयी खेलाडीलाई नगदर चार हजार, तीन हजार, दुई हजार र एक हजार तथा ट्रफीले पुरस्कृत गरियो ।
कोहलपुर माइलमा सहभागी करिब अढाई सय जना सबैलाई पदक र प्रमाणपत्र प्रदान गरियो । कोहलपुर नगरपालिका प्रमुख पुर्णप्रसाद आचार्यले सम्पुर्ण विजेतालाई पुरस्कृत गरेका थिए ।
अमेरिकाको न्युयोर्कस्थि ह्युडसन माइलको बिस्तारित रुप नै वन ग्लोबल माइल हो । ‘एक दिन एक माइल एक विश्व’ नारासहित दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ११ जुलाईमा ११ देशका विभिन्न सहरमा एकैपटक ‘वन ग्लोबल माइल’आयोजना गरिएको हो ।
विश्व रनिङको विश्वव्यापी संगठन एसोसियन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)ले वन ग्लोबल माइल विश्वभर प्रवद्र्धन गरिरहेको छ । यसलाई म्याराथनको सुरुवाती कदमका रुपमा लिइन्छ ।
अन्य देशमा एक सहरमा आयोजना भएपनि नेपालमा मात्र दुई सहर कोहलपुर र काठमाडौंमा काठमाडौं माइल आयोजना भएको हो ।















