फ्रान्सलाई यमलको चेतावनी, ‘हामीसँग डराउनुपर्ने उनीहरूले हो’

काठमाडौं। विश्वकपको सेमिफाइनलमा युरोपका दुई बलिया टोली स्पेन र फ्रान्सबीच जुलाई १४ मा रोमाञ्चक भिडन्त हुँदैछ।
खेलअघि स्पेनका युवा फरवार्ड लमिन यमलले फ्रान्सलाई लक्षित गर्दै आत्मविश्वासपूर्ण चेतावनी दिएका छन्। उनका अनुसार डराउने हो भने फ्रान्सले स्पेनसँग डराउनुपर्छ।
बेल्जियमलाई पराजित गर्दै स्पेनले अन्तिम चारमा स्थान सुरक्षित गरेपछि यमलले भने, ‘यदि कसैले डराउनुपर्ने हो भने त्यो फ्रान्सले हो। हामीले यसअघि उनीहरूलाई प्रतियोगिताबाट बाहिर पठाइसकेका छौं। पछिल्ला दुई भेटमा पनि हामीले फ्रान्सलाई हराएका छौं। मेरो विचारमा अहिले विश्वकपका दुई उत्कृष्ट टोली स्पेन र फ्रान्स हुन्। अब मैदानमा के हुन्छ, त्यो हेरौँ। तर हामीलाई कुनै डर छैन।’
स्पेन हाल उत्कृष्ट लयमा छ। टोली लगातार ३६ खेलमा अपराजित रहेको छ। पछिल्ला दुई वर्षमा फ्रान्सविरुद्ध खेलेका दुई प्रतिस्पर्धात्मक खेलमा पनि स्पेन विजयी भएको थियो। सन् २०२४ को युरो नकआउट चरणमा स्पेनले फ्रान्सलाई २–१ ले हराएको थियो भने गत वर्ष नेसन्स लिगको सेमिफाइनलमा ५–४ को रोमाञ्चक जित निकालेको थियो। ती दुई खेलमा यमलले तीन गोल गरेका थिए।
क्यालिफोर्नियाको इंगलवुडस्थित सोफाइ स्टेडियममा बेल्जियमलाई हराएपछि स्पेनको आत्मविश्वास अझ बढेको छ। सन् २०१० मा विश्वकप उपाधि जितेपछि पहिलो पटक स्पेन विश्वकपको सेमिफाइनलमा पुगेको हो। उता फ्रान्स भने लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। सन् २०१८ मा फ्रान्स विश्वच्याम्पियन बनेको थियो भने पछिल्लो संस्करणमा उपविजेता बनेको थियो।
स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले पनि सेमिफाइनललाई लिएर टोली पूर्ण रूपमा तयार रहेको बताए। उनले भने, ‘हाम्रो ध्यान अब पूर्ण रूपमा अर्को खेलमा केन्द्रित छ। फ्रान्स बलियो टोली हो भन्ने हामीलाई राम्रोसँग थाहा छ। तर उनीहरूलाई हराउने क्षमता हामीसँग पनि छ भन्नेमा हामी विश्वस्त छौं।’
उनले थपे,‘यसअघि पनि हामीले सेमिफाइनलमा फ्रान्सलाई हराएका छौं। यसपटक पनि खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछ। जित हासिल गर्न हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ।’
अब विश्व फुटबल समर्थकको नजर जुलाई १४ मा हुने स्पेन र फ्रान्सबीचको सेमिफाइनलमा केन्द्रित हुनेछ। दुवै टोली उत्कृष्ट फर्ममा रहेकाले यो खेल विश्वकपकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एक हुने अपेक्षा गरिएको छ।












