जर्मनीको मुख्य प्रशिक्षक बन्न क्लोप सहमत

काठमाडौं । जर्मनीको पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक बन्न युर्गेन क्लोपले सहमति जनाएका छन्।
लिभरपुलका पूर्व प्रशिक्षक क्लोपले शुक्रबार न्युयोर्कमा जर्मन फुटबल संघ (डीएफबी)का वरिष्ठ पदाधिकारीहरूसँग भेटवार्ता गरेका थिए। डीएफबीका अनुसार आगामी साता थप छलफल हुनेछ भने क्लोप हाल कार्यरत रेड बुलसँग पनि सहमति हुन बाँकी छ।
यद्यपि, दुवै पक्षबीच प्रमुख विषयमा सहमति भइसकेकाले क्लोपले जुलियन नागेल्समानको स्थान लिने लगभग निश्चित देखिएको छ।
विश्वकपमा जर्मनीको यात्रा प्रारम्भिक चरणमै समाप्त भएपछि नागेल्समानले पदबाट राजीनामा दिएका थिए।
डीएफबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “डीएफबी अध्यक्ष बर्न्ड नोयन्डोर्फ र उपाध्यक्ष हान्स योआखिम वाट्ज्केले न्युयोर्कमा युर्गेन क्लोपसँग राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने सम्भावनाबारे पहिलो विस्तृत छलफल गरेका छन्।”
विज्ञप्तिमा थप भनिएको छ, “सकारात्मक छलफलका क्रममा सम्भावित सम्झौताका मुख्य विषयमा सहमति भएको छ। वार्ता आगामी साता पनि जारी रहनेछ।”
डीएफबीले क्लोपको हालको क्लब रेड बुलसँग सहमति भएपछि सम्झौता सफलतापूर्वक टुंगिनेमा दुवै पक्ष विश्वस्त रहेको जनाएको छ।
क्लोपले चार वर्षको सम्झौता गर्ने अपेक्षा गरिएको छ। यो उनको अन्तर्राष्ट्रिय फुटबलमा पहिलो प्रशिक्षण जिम्मेवारी हुनेछ।
क्लोपले सन् २०२४ को गर्मीमा लिभरपुलसँगको नौ वर्ष लामो कार्यकाल अन्त्य गरेका थिए। उनी सन् २०२५ जनवरीदेखि रेड बुलमा ‘ग्लोबल हेड अफ फुटबल’ को भूमिकामा कार्यरत छन्।













