इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

काठमाडौं। मेसीको करियअमा यो तेस्रो विश्वकप सेमिफाइनल हुनेछ।
रोचक पक्ष के छ भने आधिकारिक वा मैत्रीपूर्ण कुनै पनि अन्तर्राष्ट्रिय खेलमा उनले अहिलेसम्म इंग्ल्यान्डविरुद्ध खेलेका छैनन्। त्यसैले लामो अन्तर्राष्ट्रिय करिअरमा मेसी पहिलो पटक इंग्ल्यान्डको सामना गर्न लागेका हुन्।
विश्वकप इतिहासमा अर्जेन्टिना र इंग्ल्यान्डबीच हालसम्म पाँच पटक भेट भएको छ। सन् १९६२ मा पहिलो भेटमा इंग्ल्यान्ड विजयी भएको थियो भने १९६६ मा पनि अर्जेन्टिनालाई हराउँदै इंग्ल्यान्डले विश्वकप उपाधि जितेको थियो।
सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोल र ‘शताब्दीको उत्कृष्ट गोल’ को मद्दतमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई पराजित गर्दै अन्ततः विश्वकप उपाधि जितेको थियो।
सन् १९९८ को विश्वकपमा डेभिड बेकह्याम रातो कार्ड पाएपछि पेनाल्टी सुटआउटमा इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिएको थियो। त्यसको चार वर्षपछि सन् २००२ को विश्वकप समूह चरणमा बेकह्यामकै पेनाल्टी गोलको मद्दतमा इंग्ल्यान्डले १–० को जित निकाल्दै त्यसको बदला लिएको थियो।
सन् २००५ पछि भने यी दुई फुटबल महाशक्तिबीच कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन।












