यी हुन् विश्वकप २०२६ का ५ उत्कृष्ट खेल

काठमाडौं। विश्वकपका १०४ खेलमध्ये हालसम्म १०० खेल सम्पन्न भइसकेका छन्। क्वार्टरफाइनलका रोमाञ्चक भिडन्तपछि प्रतियोगिता अब अन्तिम चरणमा प्रवेश गरेको छ। मैदानमा केही नतिजाले करोडौं समर्थकलाई भावुक बनायो भने केही खेलले फुटबल इतिहासकै उत्कृष्ट रोमाञ्चक क्षणहरू उपहार दिए।
अर्जेन्टिना ३–२ इजिप्ट
अन्तिम १६ को यस खेलमा पहिलो ७५ मिनेटसम्म इजिप्ट नै उत्कृष्ट टोलीका रूपमा देखियो। यासेर इब्राहिम र मोस्तफा जिकोको दुई गोलको मद्दतले इजिप्टले साविक विजेता अर्जेन्टिनामाथि २–० को अग्रता बनाएको थियो। यसबीच लिओनल मेसीले पेनाल्टी पनि गुमाए।
तर त्यसपछि सुरु भयो ‘मेसी शो’। मेसीले क्रिस्टियन रोमेरोलाई गोल गराएपछि आफैंले शक्तिशाली प्रहारमार्फत बराबरी गोल गर्दै खेल २–२ मा पुर्याए। अन्ततः ९२औँ मिनेटमा एन्जो फर्नान्डेजले गरेको उत्कृष्ट हेडर गोलले अर्जेन्टिनालाई ३–२ को अविस्मरणीय जित दिलायो।
अष्ट्रिया ३–३ अल्जेरिया
समूह ‘जे’ को अन्तिम खेल निकै रोमाञ्चक रह्यो। दुवै टोलीका लागि बराबरी नतिजा नै अर्को चरण पुग्न पर्याप्त थियो।
९३औँ मिनेटमा रियाद महरेजले गोल गर्दै अल्जेरियालाई ३–२ ले अगाडि बढाएपछि अष्ट्रियाको यात्रा समाप्त हुने संकेत देखिएको थियो।
तर इन्जुरी समयमा ९६औँ मिनेटमा साशा कालाचिसले अष्ट्रियाका लागि बराबरी गोल गर्दै खेल ३–३ मा टुंग्याए। यस नतिजासँगै दुवै टोली अर्को चरणमा पुग्न सफल भए र समर्थकहरूले अविस्मरणीय खेलको आनन्द लिन पाए।
अर्जेन्टिना ३–२ केप भर्डे
विश्वकप इतिहासकै ठूलो उलटफेरमध्ये एक हुने सम्भावनासम्म पुगेको यो खेलमा फिफा वरीयतामा धेरै पछाडि रहेको केप भर्डेले अर्जेन्टिनालाई निर्धारित समयमा १–१ को बराबरीमा रोक्दै खेल अतिरिक्त समयमा पुर्यायो।
अतिरिक्त समयको सुरुमै लिसान्द्रो मार्टिनेजले अर्जेन्टिनालाई अग्रता दिलाए पनि १०३औँ मिनेटमा सिड्नी लोपेस काब्रालको शानदार लामो दूरीको प्रहारले खेल फेरि बराबरीमा आयो।
स्कोर २–२ रहेको अवस्थामा १११औँ मिनेटमा क्रिस्टियन रोमेरोको आक्रमण केप भर्डेका डिफेन्डर डिनेइ बोर्जेसलाई लागेर आत्मघाती गोल भएपछि अर्जेन्टिनाले ३–२ को ऐतिहासिक जित दर्ता गर्यो।
ुुुुु
इङ्ग्ल्यान्ड ३–२ मेक्सिको
मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका स्टेडियमको कठिन वातावरण र समुद्री सतहबाट करिब ७,००० फिटको उचाइमा खेल्नुपर्ने चुनौतीबीच इङ्ग्ल्यान्ड मैदानमा उत्रिएको थियो।
जुड बेलिङ्घमको दुई गोल र ह्यारी केनको पेनाल्टी गोलको मद्दतले १० खेलाडीमा सीमित इङ्ग्ल्यान्डले एक समय ३–१ को अग्रता बनायो। त्यसपछि राउल जिमेनेजले पेनाल्टीमार्फत एक गोल फर्काए पनि अन्तिम २० मिनेट इङ्ग्लिस रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै ३–२ को जित सुरक्षित गर्यो।
पोर्चुगल २–१ क्रोएसिया
टोरोन्टोमा भएको यस खेलमा क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचको सम्भावित अन्तिम विश्वकप भिडन्त हेर्ने समर्थकहरूको ठूलो उत्साह थियो। पहिलो हाफमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।
त्यसपछि रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल गरे। यो विश्वकपको नकआउट चरणमा उनको पहिलो गोल थियो। खेलको अन्तिम क्षणमा विकल्प खेलाडी गोन्सालो रामोसले हेडमार्फत निर्णायक गोल गरे भने लामो भिएआर समीक्षापछि क्रोएसियाको अर्को गोल रद्द भयो। त्यससँगै पोर्चुगलले २–१ को नाटकीय जित हात पार्यो।












