पोखरा । आगामी जुन २३ मा मनाउन लागिएको ओलम्पिक डे (दिवस) को तयारी सुरु गरिएको छ ।
पोखरामा भएको ओलम्पिक डे २०२२ को अग्रिम योजना तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटि अन्तर्गत गठित स्पोर्टस फर अल कमिसन नेपालका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठले हरेक नागरिकलाई खेलकुदको महत्वका बारेमा बुझाउन आवश्यक रहेको बताए ।
आगामी जुन १ मा संघिय राजधानी काठमाडौंमा कार्यक्रमको उद्घाटन पश्चात सात वटै प्रदेशका ७७ वटै जिल्लामा विभिन्न २ हजार ५ सय कार्यक्रम आयोजना गरिने उनले बताए । विभिन्न चुनौतीका बावजुद पनि हरेक क्षेत्र र उमेर समूहका नागरिकको प्रतिनिधित्व हुने गरी १ लाख ९० हजार जनाको सहभागिता गराउने आफूहरुको लक्ष्य रहेको उनको भनाई थियो ।
नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदको महत्व राजनीतिक नेतृत्वमा रहेकाहरुलाई बुझाउन सकेमात्र खेल क्षेत्रमा आवश्यक बजेट विनियोजन हुने उल्लेख गरे । उनले गण्डकी प्रदेशमा मात्र नभई हरेक प्रदेशमा राज्यको लगानी कम हुँदाहुँदैपनि खेलाडीहरुले खेलकुदको क्षेत्रमा राम्रो प्रदर्शन गरेको बताए ।
खेलकुदका माध्यमबाट नै धेरै युद्ध विराम भएका प्रसङ्ग उल्लेख गर्दै गुरुङले ग्रिस तथा युरोपको सभ्यातालाई पछयाउँदै र समेटदै जानुपर्नेमा जोड दिए । उनले नेपालमा नै पहिलो पटक गण्डकी विश्वविद्यालयमा खेलकुद सम्बन्धि पढाइ हुँदै आएको भन्दै खुसी व्यक्त गरे ।
गण्डकी प्रदेश स्पोर्टस फर अल कमिसनका अध्यक्ष खड्गबहादुर रानाभाटले खेलकुद क्षेत्रमा लागेर यो अवस्था सम्म आउँछु भन्ने आफूले कल्पना नै नगरेको सुनाए । उनले खेलेर के पाएँ भन्दापनि देशलाई कति योगदान दिन सकेँ भन्ने महत्वपूर्ण बिषय भएको बताए ।
सन् १८९४ जुन २३ मा आधुनिक ओलम्पिक अभियानको आरम्भ तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको स्थापना भएको थियो । नेपालमा सन् १९६२ मा ओलम्पिक कमिटिको स्थापना भएको थियो भने १९६३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबाट नेपाल ओलम्पिक कमिटिलाई आधिकारिक मान्यता दिइएको थियो । नेपालसहित २ सय ६ वटा राष्ट्रहरुले जुन २३ मा एकैसाथ यो दिवस मनाउँदै आइरहेका छन् ।