काठमाडौं । मोटर स्पोर्ट्सको विख्यात ब्राण्ड फर्मुला वानको विश्व ब्यापी अभियान अन्तर्गत नेपालमा संचालन हुने 'एफ वान इन स्कुल्स' र 'स्कुल्स टु ट्रयाक' अभियानलाई काठमाडौं इन्जिनियरिङ कलेजले प्रायोजन गरेको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालले बुधबार प्रेस विज्ञप्ति निकाल्दै अभियानलाई काठमाडौं इन्जिनियरिङ कलेजले प्रायोजन गरेको जनाएको छ ।
कलेजका अध्यक्ष तथा प्रिन्सिपल हिरेन्द्रमान प्रधान तथा नासा नेपालका अध्यक्ष दशरथ रिसालले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नासाले नेपाली मोटर्स स्पोर्ट्समा यो अहिलेसम्मकै सर्वाधिक ठुलो रकमको साझेदारी भएको जनाएको छ ।
ईन्जिनियरिङ्ग तथा व्यवस्थापन कलेजका महिला विद्यार्थीहरु बिचमा हुने यस अभियानमा २०० विद्यार्थी सहभागी हुने छन् । जसमा ८० प्रतिशत सहभागी महिला हुने आयोजकले जनाएको छ ।
सन् २०२२ भरीमा सम्पन्न गरिने लक्ष्य रहेको यस कार्यक्रममा कलेजले १५ लाख नगद, तालिम सेन्टरको व्यवस्थापन र ५० विद्यार्थीको संयोजन गर्नेछ भने अन्य विद्यार्थी अन्य कलेजहरुबाट सहभागी गराइने नासाले जनाएको छ ।
कुल २ करोड ४ लाख अनुमानित खर्च लाग्ने सो कार्यका लागि मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ एफआईए र अन्य सहयोगी संस्थाहरु तथा आन्तरिक स्रोतबाट जुटाइने छ ।
'एफ वान इन स्कुल्स' विश्वमै लोकप्रिय फर्मुला वानको प्रारम्भिक विधा हो । जुन १९ वर्ष भित्रका युवा माझ सञ्चालन गरिन्छ ।
यस अभियानमा फर्मुला वानको अनलाइन भर्सनको ज्ञान, सर्किट डिजाइन र त्यसको सिद्धान्त, कार्ट्सको जानकारी र त्यसको प्रयोग, इभेन्ट म्यानेजमेन्ट र सञ्चार सीप, नेतृत्व र व्यक्तित्व विकास, अनलाइन रेसिङमा सहभागिता लगायतका कार्य हुनेछन् ।
अभियानमा काठमाडौं इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज, काठमाडौं विश्वविद्यालय, कसमस इन्जिनियरिङ कलेज, एभरेष्ट इन्जिनियरिङ कलेज, जेभियर एकेडेमी, काठमाडौं कलेज अफ म्यानेजमेन्ट र नाथम कलेज, रविभवनका विद्यार्थीहरु सहभागी हुनेछन् ।
सुशील तण्डुकार, मन्चन तिवारी, निरज खड्का तथा मेकानिकल, अटोमोबाइल र इलेक्ट्रिकल क्षेत्रका विज्ञहरु समेत रहेको टिमले सञ्चालन गर्ने यस अभियानको संयोजन मोटर स्पोर्ट्सको विश्व गभर्निङ बडी फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल नासा का वल्र्ड काउन्सिल मेम्बर तथा नासा नेपालका प्रमुख सल्लाहकार गोविन्द भट्टराईले गर्नेछन् ।