काठमाडौं । आखिरमा नेपाली फुटबलमा त्यो दिन पनि आइपुग्यो, जति बेला कुनै औपचारिक मान्यता प्राप्त खेलमा राष्ट्रिय टिमले अफ्रिकी प्रतिद्वन्द्वीको सामना गर्नेछ । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने बढ्दो चलनले यो मीठो साइत जुराएको छ र यसै अन्तर्गत नेपालले आज दशरथ रंगशालामा सामना गर्नेछ, मरिसस । नेपालले यो अफ्रिकी टिमविरुद्ध दुई खेल खेल्नेछ र यसको पहिलो खेल आज शनिबार हुन लागेको हो । मरिसस अफ्रिकी फुटबलमा धेरै सुनिने नाम होइन् ।
अझ भनौं, विश्व फुटबलमा अफ्रिकाको जगजगी रहेको बेला मरिसस त्यस्तो हैसियत राख्ने टिम होइन् । त्यस अर्थमा कम्तीमा विश्वास गरौं, नेपालले शनिबारको यो खेल जित्ने छ । जित्ने मात्र होइन्, राम्रै गोल अन्तरले जित्ने छ । नेपाल साँच्चै मरिससविरुद्ध जित निकाल्न सफल रहे, त्यसको धेरै अर्थ रहनेछ । त्यति पनि नभनौं, नेपालले मरिससको समाना गर्दा त्यसको पनि हुनेछ धेरै अर्थ । पहिलो त यो नेपालले खेल्न लागेको पहिलो अफ्रिकी देश भयो ।
यसअघि अनौपचारिक खेलमा नेपालले अल्जेरिया, सिरालियोन र क्यामरुनको सामना गरेको थियो । यी तीनै खेलमा नेपाल पराजित रहेको थियो । अब नेपालकै कुरा । नेपाली राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न थालेको सन् २००८ पछि मात्र हो । नेपालले अहिलेसम्म कुल २८ यस्ता खेल खेलेको छ र त्यसमध्ये अधिकांस खेलमा टिमको प्रदर्शन खराब रहेको छ । विश्वास नहुन सक्छ, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सन् २०११ यता जितहीन रहेको छ।
त्यो भनेको लगातार २३ खेल, एक दशक भन्दा बढीको समय । अझ नेपालले दशरथ रंगशालामा अहिलेसम्म खेलेका पाँच मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा पनि जित निकाल्न सकेको छैन् । अन्तर्राष्ट्रिय फुटबलमा नेपालको यो निकै खराब प्रदर्शनको इतिहास हो । त्यसो त मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल धेरै अवसरमा प्रशिक्षकका लागि प्रयोग र अनुभव बटुल्न राम्रो अवसर हुन सक्छ । तर सधैं प्रयोग र अनुभव बटुल्ने कारण मात्र पनि राम्रो हुन्न होला, जित त चाहिन्छ नै।
आफू भन्दा धेरै बलिया टिमविरुद्ध यस्ता मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा हार एक प्रकारले स्वभाविक छ, तर दक्षिण एसियाली प्रतिद्वन्द्वी पाकिस्तान, बंगलादेश र भारतविरुद्ध नै जित निकाल्न असफल रहनु पनि चिन्ताको विषय पक्कै हो । यस्तोमा मरिससलाई हराउन सके, त्यसको धेरै अर्थ हुने छैन् र ? त्यति मात्र होइन्, मुख्य प्रशिशक्षक अब्दुल्लाह अल्मुताइरीले पनि अहिलेसम्म दशरथ रंगशालामा कुनै खेल जितेका छैनन् । सायद उनका लागि आफ्नो डेब्यु जित निकाल्न आजको खेल जत्तिको राम्रो अवसर अन्य कुनै हुने छैन् ।
मरिसस आफै साढे दुई वर्षको अन्तरपछि अन्तर्राष्ट्रिय फुटबलमा ओर्लिदै छ । त्यसमाथि टिममा नयाँ अनुहार पर्याप्त छन् । अनि टिमले खालि साढे दुई महिनाको मात्र तयारी गरेको छ । मरिसस आफै मान्छ्, नेपाल बलियो टिम हो । त्यसैले भन्न सकिन्छ, आजको खेलमा नेपालले जित निकाल्ने अवसर पर्याप्त रहेको छ । र, यो वास्तविकतामा परिणत भए, फेरि दोहराएर भन्नु पर्छ, यसको धेरै अर्थ हुनेछन् । तर मरिसस सायद त्यति कमजोर पनि छैन् कि ? डर यसमा पनि छ ।