काठमाडौं । बहराइनमा आयोजना भएको एसियन युथ पारा गेम्समा पदक विजेता नेपाली टोली स्वदेश फर्किएका छन्।
पारा गेम्समा १ स्वर्ण, १ रजत र १ कांस्य विजेता नेपाली टोली मंगलबार साँझ स्वदेश फर्किएका हुन् ।
पारा गेम्समा नेपालकी पलेशा गोबर्दनले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
पारा तेक्वान्दोकी पलेशाले के-४४ विधाको ५७ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।
फाइनलमा इरानी खेलाडी एब्रहिमी रोजालाई ६-० ले हराएर पलेशाले स्वर्ण जितेकी हुन् ।
यस्तै नेपालका सिर्जन घिसिङ रजत पदक र विशाल गर्वुजाले कास्य पदक जितेका थिए ।
५८ केजीमुनि विशाल र ५२ केजीमुनिको तौल समूहमा सिर्जनले पदक जितका हुन् ।
सन् १९९८ को १३ औं एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेपछि नेपाली तेक्वान्दोमा पहिलो पटक एसियाली खेलकुदमा ठुलो पदक जितेको हो ।
प्रतियोगितामा नेपालबाट पारा तेक्वान्दोका तीन र ब्याडमिन्टनका एक खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
ब्याडमिन्टनका एक्लो सहभागी प्रकाश अधिकारी पनि पदक नजिक पुगेका थिए । उनले क्वाटरफाइनल यात्रा तय गरेका थिए । क्वाटरफाइनलमा प्रकाश दक्षिण कोरियाका खेलाडीसंग पराजित भएपछि पदकबाट चुके ।
पारा तेक्वान्दो प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक कविराज नेगी लामा र टोली नेतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य नन्दा बस्याल गेम्समा सहभागी थिए ।
प्रतियोगितामा नेपाल १८ औं स्थानमा रह्यो ।
नेपाली टोलीलाई राखेपका सदस्य एकेन्द्र कुँवर, नेपाल तेक्वान्दोका संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुभाष श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, परिवारजन, खेलाडीलगायतले स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा पलेशाले टोकियो पारा ओलम्पिकको सहभागिता र तयारीको अनुभवले युथ पारा गेम्समा पदक जित्न ठूलो सहयोग गरेको बताउदै सहयोगी सबैप्रति अभार प्रकट गर्दै धन्यवाद दिइन् ।