काठमाडौं । बहराइनमा आयोजना हुने एसियन युथ पारा गेम्समा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बहराइनको मनमामा आयोजना हुने पारा गेम्स डिसेम्बर २ देखि ८ सम्म आयोजना हुनेछ । जसमा पारा तेक्वान्दोका तीन र ब्याडमिन्टनका एक खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
पारा तेक्वान्दोमा पारा ओलम्पियन पलेसा गोवद्र्धनले के-४४ विधाको ५७ केजीमुनिको तौल समूहमा, ५८ केजीमुनि विशाल गर्बुजा र ५२ केजीमुनिको तौल समूहमा सिर्जना घिसिङले प्रतिस्पर्धा गर्ने छन् ।
पलेसा बाहक अन्य दुई खेलाडीको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हुनेछ । टिमको मुख्य प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।
यस्तै ब्याडमिन्टनका प्रकाश अधिकारीले पारा गेम्समा प्रतिस्पर्धा गर्ने छन् । नेपाली टिमको व्यवस्थापकमा नन्दा बस्याल रहेकी छन् ।
नेपाली पारा टोलीलाई शुक्रबार नेपाल तेक्वान्दो संघले बिदाइ गरेको छ ।
खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टोलीलाई बिदाइ गरे ।
बिदाइपछि बोल्दै मुख्य प्रशिक्षक लामाले यस प्रतियोगितामा पदक जित्ने लक्ष्य रहेको बताए ।
'तयारी राम्रो भएको छ । हामीले पदक ल्याउने योजनासहित तयारी गरेका छौँ,' उनले भने ।
पारा ओलम्पियन पलेसाले प्रतियोगितामा स्वर्णका लागि प्रतिस्पर्धा गर्ने बताईइन् ।