काठमाडौ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर कुवेतले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको हो ।
ग्लोबल छनोटको सम्भावनालाई कायमै राख्न नेपालमाथि आज कुवेतविरुद्धको खेल जित्नुपर्ने दवाव छ ।
नेपालले यस अघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय भोगेपनि दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।
कुवेतले भने अघिल्ला दुबै खेलमा पराजय भोगेको छ । उसले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनको हार व्योहोरेको थियो ।
नेपालले यस अघि कुवेतलाई सन् २०१९ मा भएको खेलमा ३० रनले पराजित गरेको थियो । र आज पनि त्यस जितलाई कायमै राख्ने दाउमा रहेको छ ।