काठमाडौं । लिग भनेको उपाधि र रेलिगेशनमात्र हैन । तालिकामा राम्रो स्थान बनाउन क्लबबीच राम्रै टक्कर चल्छ ।
जावलाखेलले पछिल्लो सिजन लिगको छैटौं स्थानमा रह्यो । उपाधिको होडमा नरहेको जावलाखेलेको नतिजालाई धेरैले उपलब्धिपूर्णनै माने ।
टप सिक्समा रहेर जावलाखेल राष्ट्रिय लिगमा छनोट भएको थियो । भलै यस वर्ष राष्ट्रिय लिग नहुने पक्का जस्तै छ । तर आसन्न लिगमा जावलाखेल गत सिजन भन्दा तालिकामा थप सुधार गर्न चाहन्छ । अर्थात शीर्ष ६ बाट उक्लिएर क्लब चार भित्र अटाउन चाहन्छ ।
‘अघिल्लो सिजन छैटौं भएका थियौं । यसपटक चौथों स्थानसम्म पुग्ने लक्ष्य छ । त्यसका लागि कडा मेहनत गर्नुका साथै खेलाडीबीचको तालमेल मिलाउँदैछौं । टिमको रणनीति मिल्दै आएको छ । खेलाडी मनोवैज्ञानिक रुपमा बलिया छन् । म आफुपनि बलियो हुदै गइरहेको छु ।’ क्लबका मुख्य प्रशिक्षक किशोर केसीले खेलपाटीसँग भने ।
हालसम्म लिगको उपाधि जित्न नसकेको जावलाखेलको सबैभन्दा राम्रो प्रदर्शन भनेको लिगमा तेस्रो स्थानमा रहनु हो । चौथों स्थान हात पार्ने लक्ष्य भएपनि क्लबलाई रेलिगेसनको डर उत्तिकै छ ।
१४ वटा क्लब सहभागी हुने लिगमा दुई टिम रेलिगेशनमा पर्नेछन् ।
‘दुईवटा टिम रेलिगेशनमा पर्छ, त्यसैले राम्रो खेल्नुपर्छ । रेलिगेसनबाट बच्न सबैले मेहनत गरिरहेका छन् ।’ प्रशिक्षक केसीले भने ।
प्रशिक्षक केसी खेलाडीबीच तालमेल मिलेको खण्डमा मात्र खेल जित्ने बताए । उनले तयारीका लागि समय अपुग भएको उल्लेख गरे ।
जावलाखेलले ४५ दिनको तयारी गरेको छ । तर प्रशिक्षक केसी लिगका लागि कम्तिमा ३ महिनाको तयारी आवश्यक देख्छन् ।
‘तयारीका लागि तीन महिना चाहिने हो । तर त्यसका लागि क्लबले आर्थिक रुपले धान्न सक्नुपर्यो ।’ उनले भने ।
यस पटक हप्तामा क्लबको एक मात्र खेल हुनु राम्रो पक्ष रहेको केसी मान्छन् ।
‘हप्तामा तीन दिन खेल्नु व्यावसायीक रुपमै राम्रो छ । यो राम्रो कुरा हो । हप्ताको अन्त्यमा खेल्नु खेलाडीका लागि राम्रो रिकभरी हुने मौका हो ।’ उनले भने ।
प्रशिक्षक केसी मात्र हैन हप्तामा एक दिनमात्र खेल हुँदा खेलाडी समेत खुसी छन् । क्लबका कप्तान कुलदिप कार्की हप्तामा एक खेल मात्र खेलाउने नियम आउन धेरै ढिला भएको बताउँछन् ।
‘खेलाडीले एउटा खेल खेलेपछि एक वा दुई दिन विराएर खेल्नुपर्ने अवस्था थियो । यो वर्षको लिगमा हप्तामा तीन दिन मात्र सबै क्लबको खेल छ । त्यसले रिकभर गर्ने समय एकदम राम्रो दिन्छ । यसले खेलाडी, प्रशिक्षक क्लबलाई सोच्ने समय बढी दिन्छ । यसले लामो समयसम्म खेल्न सक्ने वातावरण प्रदान गर्छ । खेलाडीलाई समेत चोट लाग्दा पनि खेल्नुपर्ने अवस्था थियो ।’ कप्तान कार्की भन्छन् ।
कार्कीका अनुसार आसन्न लिगका लागि क्लबको तयारी राम्रो भएको छ । खेलाडीहरु शारीरिक तथा मानसीक रुपमा तयार छन् । खेलाडीबीचको तालमेलनै टिमको बलियो पक्ष रहेको कार्कीको दाबी छ ।
‘नयाँ र पुरानो खेलाडी भन्दा पनि सधै एक अर्कासंगै खेलिरहेका हुन्छौ । लिगमात्र खेलेर नपुग्ने हुनाले मोफसलमा हुने खेलमा लामो समयदेखि खेलिरहेका हुन्छौ । त्यसैले तालमेलमा खासै समस्या हुदैन ।’ कार्कीले थपे ।
टिम सदस्य :
गोलरक्षक : टेकेन्द्र सिंह थापा, अनिश देउजा, ईश्वर गुरुङ ।
डिफेन्डर : कप्तान कुलदिप कार्की, गौरब श्रेष्ठ, सिमोन्त थापा, दिपेङक राज सिंह, सुशिल कुमार यादव, सन्तोष दाहाल, फलेरेन्ट काओरा, पूर्ण बहादुर श्रेष्ठ ।
मिडफिल्डर : रुपबहादुर लामा, सुरज ठकूरी, पेमा लेन्थुप शेर्पा, राजेन्द्र रावल, निशान न्योपाने ।
फरवार्ड : अमिर श्रेष्ठ, सुनिल खड्का, निकोलस फर्नान्डेज, विनोद केसी, सन्त बहादुर गुरुङ, निराजन खत्री, नजिमी लोयिक, सञ्जिब कार्की, समी राज ठोकर, मनिस पौडेल ।