अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

काठमाडौं । अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले स्पेनसँग विश्वकप फाइनलमा पराजित भए पनि आफ्नो टोलीले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको बताएका छन्।
न्यु जर्सीमा आइतबार भएको फाइनलमा अर्जेन्टिना अतिरिक्त समयमा स्पेनसँग १-० ले पराजित भएको थियो। खेलको अन्त्यतिर दुई पहेँलो कार्ड पाएपछि फर्नान्डेज मैदानबाट बाहिरिएका थिए।
पहिलो पहेँलो कार्ड उनले स्लोभेनियाली रेफ्री स्लाभ्को भिन्चिचको निर्णयप्रति असन्तुष्टि जनाएपछि पाएका थिए। त्यसपछि पाउ कुबार्सीमाथि गरेको कडा ट्याकलका कारण उनले दोस्रो पहेँलो कार्ड पाउँदै रातो कार्ड बेहोरेका थिए।
तर सामाजिक सञ्जालमा फर्नान्डेजले रातो कार्डबारे केही उल्लेख गरेनन्। उनले भने, “समय बित्दै जाँदा नतिजाभन्दा ठूलो कुरा पनि हुन्छ भन्ने महसुस हुन्छ। यस टोलीले वर्षौंदेखि राष्ट्रिय टोलीको उत्कृष्ट प्रतिनिधित्व गर्दै आएको छ।”
उनले प्रतिस्पर्धा गर्नु भनेको केवल जित्नु मात्र नभई जर्सीका लागि सबै कुरा दिनु र कहिल्यै हार नमान्नु भएको बताए।
यसैबीच, फाइनलपछि अर्जेन्टिनाका खेलाडी तथा अफिसियल स्पेनका खेलाडीसँग झडपमा संलग्न भएका थिए। विश्वकप उपाधि मनाउँदै गरेका स्पेनिस खेलाडीमाथि अर्जेन्टिनी टोलीका सदस्यले आक्रामक व्यवहार देखाएका थिए।
फिफाको अनुशासन समितिले घटनाको छानबिन प्रकृया अघि बढाएको छ। दोषी ठहरिएका खेलाडी वा प्रशिक्षक निलम्बनमा पर्न सक्नेछन् भने अर्जेन्टिना फुटबल संघमाथि जरिवानासमेत हुन सक्छ।












