गार्सियाले बेल्जियम छाड्ने

काठमाडौं। बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सिया आफ्नो पदबाट बाहिरिने भएका छन्। बेल्जियम फुटबल संघले उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेपछि उनी जुलाई महिनाको अन्त्यसँगै टोलीबाट अलग हुने भएका हुन्।
६२ वर्षीय गार्सियाले सन् २०२५ को जनवरीमा डोमेनिको टेडेस्कोलाई प्रतिस्थापन गर्दै बेल्जियमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनको नेतृत्वमा बेल्जियमले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। क्वार्टरफाइनलमा भने बेल्जियम अन्ततः विश्व च्याम्पियन बनेको स्पेनसँग २–१ ले पराजित भएको थियो।
बेल्जियम फुटबल संघका खेल निर्देशक भिन्सेन्ट मानार्टले गार्सियाले कठिन परिस्थितिमा टोलीको नेतृत्व सम्हाल्दै रेड डेभिल्सलाई पुनः लयमा फर्काउन महत्वपूर्ण भूमिका खेलेको बताए।
“रुडी गार्सियाले बेल्जियम राष्ट्रिय टोलीलाई पुनः संगठित र प्रतिस्पर्धात्मक बनाउन उल्लेखनीय योगदान दिएका छन्। उनको प्रतिबद्धता र अनुभवका कारण टोलीमा एकता कायम भयो र विश्वकपमा राम्रो प्रदर्शन सम्भव भयो। विगत १८ महिनाको योगदानका लागि हामी उहाँ र उहाँका सहायक प्रशिक्षकहरूलाई हार्दिक धन्यवाद दिन्छौं,” मानार्टले भने।
अब बेल्जियम फुटबल संघले नयाँ चक्रको तयारी सुरु गरिसकेको र नयाँ मुख्य प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढिरहेको जनाएको छ।
विश्वकपको समूह चरणमा बेल्जियमले तीनमध्ये एक खेल मात्र जित्दै अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको थिएन। तर अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै सेनेगललाई ३–२ ले पराजित गरी अन्तिम १६ मा स्थान बनाएको थियो।
त्यसपछि बेल्जियमले प्रतियोगिताका सह आयोजक अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो। सो खेल अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको निलम्बन फिफाले अस्थायी रूपमा हटाएको निर्णयका कारण पनि चर्चामा रह्यो। गार्सियाले त्यस घटनालाई ‘अप्रिल फूलको मजाक जस्तै’ भएको प्रतिक्रिया दिएका थिए।
रोमा, लियोन र नापोलीजस्ता क्लबको प्रशिक्षण सम्हालिसकेका गार्सियाले सन् २०१९ मा मार्से छाडेपछि कुनै पनि टोलीमा दुई वर्षभन्दा बढी समय टिक्न सकेका छैनन्।












