फिफाको अनुसन्धानमा अर्जेन्टिना

काठमाडौं । फिफाले विश्वकप फाइनलपछि भएको घटनाबारे अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान सुरु गरेको पुष्टि गरेको छ।
फिफाको अनुशासन समितिले फाइनल खेल समाप्त भएपछि भएको घटनाको छानबिन गर्न अनुशासन तथा नैतिकता सम्बन्धी अभियोजक नियुक्त गरेको जनाएको छ।
घटनामा संलग्न खेलाडी वा प्रशिक्षक दोषी ठहरिएमा उनीहरूलाई निलम्बनसम्मको कारबाही हुन सक्नेछ भने अर्जेन्टिना फुटबल संघलाई आर्थिक जरिवाना पनि हुन सक्ने सम्भावना रहेको छ।
न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार सम्पन्न फाइनलमा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनाका केही खेलाडी तथा प्रशिक्षक टोलीका सदस्यहरू स्पेनका खेलाडीहरूले विश्वकप जितको उत्सव मनाइरहेका बेला उनीहरूसँग विवादमा उत्रिएका थिए।
उक्त घटनामा नाहुएल मोलिना, लियान्द्रो परेडेस, थियागो अल्माडा तथा सहायक प्रशिक्षक रोबर्टो आयाला संलग्न देखिएका छन्।
सुरुआतमा फिफाले रेफ्री स्लाभ्को भिन्चिचले स्पेनका एरिक गार्सियाको घाँटी समातेपछि परेडेसलाई रातो कार्ड देखाएको जनाएको थियो। तर केही समयपछि उक्त रातो कार्डको अभिलेख हटाइएको थियो। फिफाले दिएको जानकारीअनुसार त्यसबेला परेडेसविरुद्ध कुनै अनुशासनात्मक कारबाही गरिएको थिएन।
यद्यपि अर्जेन्टिनाले खेलका क्रममा एक खेलाडी गुमाएको थियो। मिडफिल्डर एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी समयमा दोस्रो पहेंलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुपरेको थियो।
यसअघि पनि फिफाले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा २-१ को जितपछि अर्जेन्टिनाका खेलाडीहरूले आफ्नो देशको फकल्याण्ड द्वीपसमूहमाथिको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेपछि सम्भावित कारबाहीको प्रक्रिया अघि बढाइसकेको थियो।












