फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

काठमाडौं । ला लिगाका अध्यक्ष हाभियर टेबासले विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
उनले फिफाका पछिल्ला निर्णयले समग्र फुटबल उद्योगलाई क्षति पुर्याइरहेको आरोपसमेत लगाए।
इटालियन पत्रिकासँगको अन्तर्वार्तामा टेबासले भने, “मेरो विचारमा इन्फान्टिनोको समय सकिएको छ। उनले पद छाड्नुपर्छ।”
टेबासले फिफाको निर्वाचन प्रणालीलाई समेत आलोचना गर्दै राष्ट्रिय फुटबल संघहरूको समर्थनका कारण इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिन कोही तयार नहुने बताए।
उनले सन् २०२६ को विश्वकपमा लागू गरिएको अनिवार्य तीन मिनेटको हाइड्रेसन ब्रेक, फाइनलको २७ मिनेटभन्दा लामो हाफटाइम तथा भविष्यमा विश्वकपमा ६४ टोली सहभागी गराउने योजनाको विरोध गरे।
टेबासका अनुसार मौसम अनुकूल रहेका तथा वातानुकूलित रंगशालामा समेत हाइड्रेसन ब्रेक राख्नु खेलाडीको सुरक्षाभन्दा विज्ञापन र व्यावसायिक स्वार्थसँग जोडिएको थियो।
“फुटबल उद्योग भनेको विश्वकप मात्र होइन। घरेलु लिग र राष्ट्रिय प्रतियोगिताले यो खेललाई टिकाइरहेका छन्,” उनले भने।
टेबासले धेरै अन्तर्राष्ट्रिय खेल आयोजना गर्दा घरेलु प्रतियोगिता, क्लब, खेलाडी र हजारौँ रोजगारी प्रभावित हुने बताए।
उनले फिफाले अन्य फुटबल निकायको हितलाई बेवास्ता गर्दै आफ्नै स्वार्थअनुसार निर्णय गरिरहेको आरोप लगाए।












