ब्राजिललाई २४ वर्षदेखिको अभिशाप

विश्वकपको क्वार्टरफाइनल प्रवेशका लागि हुने महत्त्वपूर्ण खेलमा ब्राजिलले नर्वेको सामना गर्दैछ। एर्लिङ हालान्ड नेतृत्वको नर्वेविरुद्धको यो खेल ब्राजिलका लागि २४ वर्षदेखिको एउटा दुर्भाग्यपूर्ण प्रतीक्षा अन्त्य गर्ने अवसर पनि हो।
सन् २००२ मा जर्मनीलाई हराएर विश्वकप जितेपछि पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले नकआउट चरणमा कुनै पनि युरोपेली टोलीलाई पराजित गर्न सकेको छैन।

सन् २००६ देखि २०२२ सम्मका सबै विश्वकपमा ब्राजिल नकआउट चरणबाट बाहिरिँदा प्रत्येक पटक विपक्षी युरोपेली टोली नै थियो। त्यसैले नर्वेविरुद्धको यो खेल ब्राजिलका लागि अझ विशेष बनेको छ। अर्को रोचक तथ्य के छ भने विश्व फुटबलको इतिहासमा नर्वे नै यस्तो एक मात्र टोली हो, जसलाई ब्राजिलले अहिलेसम्म हराउन सकेको छैन।
सन् २००६ को विश्वकपमा घानालाई हराएर क्वार्टरफाइनल पुगेको ब्राजिल त्यसपछि फ्रान्ससँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। चार वर्षपछि दक्षिण अफ्रिकामा भएको विश्वकपमा पनि ब्राजिल क्वार्टरफाइनलमै रोकियो, जहाँ नेदरल्यान्ड्सले उसको यात्रा अन्त्य गर्यो।
सन् २०१४ को घरेलु विश्वकप ब्राजिलका समर्थकका लागि सबैभन्दा पीडादायी सम्झनामा पर्छ। सेमिफाइनलमा जर्मनीसँग ७–१ को ऐतिहासिक हार बेहोरेपछि ब्राजिल उपाधि दौडबाट बाहिरिएको थियो। त्यसपछिका दुई विश्वकपमा पनि ब्राजिल अन्तिम आठबाट अघि बढ्न सकेन। सन् २०१८ मा बेल्जियम र २०२२ मा क्रोएसियासँग पराजित हुँदै टोलीको यात्रा समाप्त भएको थियो।

यो लामो निराशाजनक शृंखला अन्त्य गर्ने जिम्मेवारी अहिले इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीको काँधमा छ। क्लब फुटबलमा युरोपका शीर्ष टोलीविरुद्ध नकआउट चरणमा उल्लेखनीय सफलता हासिल गरेका एन्सेलोटी अब त्यही अनुभव राष्ट्रिय टोलीमा पनि दोहोर्याउने लक्ष्यमा छन्।
नर्वेविरुद्धको खेलअघि उनले भने,‘पहिलो खेलदेखि हाम्रो टोली लगातार सुधार भइरहेको छ। अहिले हामी धेरै संगठित र आत्मविश्वासी छौं। नकआउट खेलमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बलियो रक्षापंक्ति हो।’

हालका वर्षहरूमा युरोपेली टोलीविरुद्ध ब्राजिलको प्रदर्शन निराशाजनक रहे पनि विश्वकप नकआउट इतिहासमा समग्र तथ्यांक भने ब्राजिलकै पक्षमा छ। युरोपेली विपक्षीविरुद्ध ब्राजिलले १७ खेल जितेको छ, ९ खेल हारेको छ र ५ खेल बराबरीमा टुंगिएका छन्। ती बराबरीमध्ये दुईमा ब्राजिलले टाइब्रेकरमा जित निकालेको छ भने दुईमा पराजय बेहोरेको छ।
ब्राजिल र नर्वेबीचको रोमाञ्चक भिडन्त आइतबार न्यु जर्सीस्थित मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ। क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्नुका साथै २४ वर्षदेखिको युरोपेली टोलीविरुद्धको नकआउट जितको खडेरी अन्त्य गर्ने लक्ष्यसहित ब्राजिल मैदान उत्रिनेछ।














