निर्विकल्प पेनाल्टी टेकर थिए ब्रुनो

ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी खेलपछि निकै निराश देखिए।
अनुहारमा हारको स्पष्ट छाप बोकेका उनले ब्राजिलका करोडौं समर्थकको अपेक्षा पूरा गर्न नसकेको स्वीकार गरे। उनले पेनाल्टी प्रहार गर्ने निर्णय टिमले लामो समयदेखि तय गरेको योजना अनुसार गरिएको र त्यस क्रममा भिनिसियस जुनियरभन्दा गुइमारेस अगाडि रहेको बताए।
खेलको सुरुआतमै ब्राजिलले अग्रता लिने सुनौलो अवसर पाएको थियो। तर‚ गुइमारेसले पेनाल्टी गोलमा परिणत गर्न नसक्दा टोलीले त्यो मौका गुमायो। त्यसपछि ब्राजिलको आत्मविश्वासमा पनि असर परेको देखियो। भिनिसियस, कासेमिरोजस्ता अनुभवी खेलाडी मैदानमा हुँदाहुँदै पनि किन ब्रुनोलाई पेनाल्टीको जिम्मेवारी दिइयो भन्ने प्रश्न समर्थकहरूबीच उठेको थियो।

पत्रकार सम्मेलनमा यसबारे सोधिएको प्रश्नको जवाफ दिँदै एन्सेलोटीले भने,‘पेनाल्टी प्रहारका लागि नेयमार सबैभन्दा उत्कृष्ट विकल्प हुन्। त्यसपछि राफिन्हा। तर‚ त्यो समयमा मैदानमा रहेका खेलाडीमध्ये ब्रुनो नै सबैभन्दा उपयुक्त थिए। त्यसैले उनलाई जिम्मेवारी दिइएको हो।’
उनले पेनाल्टी प्रहार गर्ने खेलाडीको क्रम प्रशिक्षक समूहले धेरैअघि नै तय गरिसकेको जानकारी पनि दिए। सोही सूचीअनुसार गुइमारेस, भिनिसियस जुनियर र गाब्रिएल मार्टिनेलीभन्दा अगाडि थिए। अन्य सम्भावित पेनाल्टी टेकर भने त्यसबेला मैदानमा उपस्थित थिएनन्।
यसपटक ब्राजिल छैटौं विश्व उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागी भएको थियो। तर‚ टोली अन्तिम १६ चरणमै बाहिरिएपछि समर्थकसँगै प्रशिक्षक टोली पनि गहिरो निराशामा परेको छ।

एन्सेलोटीले भने, ‘यो वास्तवमै निकै निराशाजनक परिणाम हो। समर्थकहरूजस्तै हामी पनि दुःखी छौँ।’ हारको कारणबारे उनले थपे, ‘खेल बराबरीमा रहेको बेला हामीले धेरै राम्रो गोल गर्ने अवसर सिर्जना गरेका थियौं। तर‚ ती अवसरलाई सदुपयोग गर्न सकेनौं। अन्ततः त्यही नै हारको मुख्य कारण बन्यो।’
दोस्रो हाफमा एन्ड्रिक र नेयमार मैदानमा आएपछि ब्राजिलको आक्रमणको गति र रणनीतिमा परिवर्तन देखिएको थियो। टोलीले विपक्षीमाथि दबाब बनाए पनि गोल गर्न सकेन। उल्टै नर्वेले गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो। एन्ड्रिकले गोलरक्षकसँग एक्लै सामना गर्ने उत्कृष्ट अवसर पनि गुमाएका थिए।
यस विषयमा एन्सेलोटीले भने, ‘एन्ड्रिक मैदानमा आएपछि हामी आक्रमणमा अझ प्रभावकारी भएका थियौं। बलमाथि नियन्त्रण राख्यौं, लगातार आक्रमण पनि गर्यौं। तर‚ गोल गर्न नसक्दा त्यसको मूल्य चुकाउनुपर्यो।’













