कबड्डीको एसियाड तयारी भारतमा हुने

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ ।
प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन् । घनश्याम, अंकु, रवि र करुण भारतमै प्रशिक्षणमा छन् ।
घनश्याम हरियाणामै छन् भने बाँकी ३ खेलाडी हिमाचल प्रदेशमा छन् । उनीहरु त्यत्तैबाट टिमसंग समावेश हुने छन् ।
प्रशिक्षकमा विष्णु दत्त भट्ट, सहायक प्रशिक्षकमा कल्याण भुजेल र व्यवस्थापकमा पर्शुराम ओली छन् । व्यवस्थापक ओली भने केही दिनपछि जाने छन् ।
खेलाडीले हरियाणास्थित सनदीप नरवाल एकेडेमीमा १ महिना प्रशिक्षण गर्ने छन् । त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने कार्यक्रम पनि रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
‘यदि चाइनिज ताइपेइ पनि थाइल्यान्ड आयो भने मात्र हाम्रो टोली थाइल्यान्ड जान्छ । त्यहाँ हामीसहित ३ राष्ट्रको अभ्यास खेल हुन्छ । ताइपेइ थाइल्यान्ड नगएको खण्डमा हामी भारतकै जयपुर र उत्तरप्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिने छौं । भारतमा विभिन्न स्थानिय टोलीसंग अभ्यास खेल पनि खेल्छौं ।’ महासचिव झाले भने ।
टोली प्रशिक्षणस्थलबाटै असोज ३ देखि १८ गतेसम्म हुने एसियाली खेलकुदमा सहभागी हुन जापान जाने छ । एसियाली खेलकुदमा नेपाली पुरुष कबड्डी टोलीको यो पाँचौं सहभागिता हुनेछ ।
यसअघि पुरुष टोलीले १९९० मा चीन, १९९४ मा जापान, १९९८ मा थाइल्यान्ड र २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएको थियो ।














