काठमाडौं । नेपालका तीन महिला नेत्रहीन क्रिकेट खेलाडी 'ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार' बाट सम्मानित भएका छन् ।
नेपाल नेत्रहीन क्रिकेट संघले १६ औं वार्षिकोत्सवको अवसरमा तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । संघले हरेक वर्षको साउन २२ गते वार्षिकोत्सव मनाउने गर्छ ।
सम्मानित हुनेमा बी-३ समूहतर्फ राष्ट्रिय टोलीका उपकप्तान समेत रहेकी गीता पौडेल, बी-२ बाट भगवती अमगाई र बी-१ बाट मुना अरियाल रहेकी छिन् ।
उनीहरुलाई जनही ५/५ हजार र कदरपत्रबाट सम्मान गरिएको संघले जनाएको छ ।
गीता विगत १५ वर्षबाट नेत्रहिन क्रिकेटमा संलग्न रहेकी छिन् ।
गीताले सन् २०१४ मा बेलायतविरुद्धको सिरिज र सन् २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा नेपाली टिमको उपकप्तानको भूमिकामा नेपाललाई दुई वटै खेल जिताउन सफल भएकी थिइन् ।
यस्तै भगवती आफ्नो उत्कृष्ट ब्याटिङ क्षमताबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय कीर्तिमान बनाउन सफल खेलाडी हुन् । उनले बेलायतविरुद्धको सिरिज र सन् २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा 'प्लेयर अफ द सिरिज' पाएकी थिइन् ।
त्यस्तै मुना पनि १४ वर्षबाट नेत्रहीन क्रिकेटमा आबद्द छिन् । मुना सन् २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ द सिरिज चुनिएकी थिइन् ।