काठमाडौं । नेपालका पौडीबाज गौरिका सिंहले ओलम्पिक खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाउँदा खुशी लागेको बताएकी छिन् ।
टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
'एकदम खुशी लागेको छ । राम्रो स्वीमिङ गरे । खासै टाइमको टार्गेट थिएन । जति सक्दो राम्रो गर्ने थियो,' गौरिकाले भनिन् ।
हिट चरणमा गौरिकाले १:००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।
यस अघि गौरिकाको नाममा १:००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
गौरिकाले कोभिडको कारण लङ कोर्समा तयारी गर्न नपाएको कारण केहि गार्हो भएको बताईन् ।
'कोभिडको कारणले लङ कोर्समा तयारी भएको थिएन । लङ कोर्स र सर्ट कोर्समा फरक हुन्छ । मेरो सर्ट कोर्समा राम्रो हुन्छ,' उनले भनिन् ।
राष्ट्रिय कीर्तिमान बनाए पनि गौरिका हिट चरणबाटै बाहिरिएकी थिइन् ।
यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन् ।
१८ वर्षिया ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो ।
यस अघि २०१६ मा गौरिकाले रियो ओलम्पिक खेलेकी थिइन् ।
गौरिकाको प्रतिस्पर्धासँगै पौडीमा नेपालको चुनौती सकिएको छ ।
मंगलबार एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले प्रतिस्पर्धा गरेका थिए ।
हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।