काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीबाज गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
हिट चरणमा गौरिकाले १:००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।
५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।
यस अघि गौरिकाको नाममा १:००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
राष्ट्रिय कीर्तिमान बनाए पनि गौरिकाले सेमिफाइनलमा स्थान बनाउन सकिनन् । उनी हिट चरणबाट बाहिरिए ।
यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन् ।
१८ वर्षिया ओलम्पिकमा गौरिकाको यो दोस्रो सहभागिता हो ।
यस अघि २०१६ मा गौरिकाले रियो ओलम्पिक खेलेकी थिइन् ।
गौरिकाको प्रतिस्पर्धासँगै पौडीमा नेपालको चुनौती सकिएको छ ।
मंगलबार एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले प्रतिस्पर्धा गरेका थिए ।
हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।