काठमाडौं । नेपालका पौडीवाच एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले ओलम्पिक खेलकुदमा राष्ट्रिय कीर्तिमान बनाउँदा आफु धेरै खुसी भएको बताएका छन् ।
जापानमा जारी टोकियो ओलम्पिकमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
'नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय कीर्तिमान बनाउन पाउँदा म धेरै खुशी छु,' एलेक्सले खेलपछि भने ।
टोकियो एक्वेटिक सेन्टरमा एलेक्सले हिट चरणमा ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
एलेक्स आफ्नो हिट-१ मा शीर्ष स्थानमा रहे । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए ।
एलेक्सले आफ्नै नामको कीर्तिमान सुधार गरेका हुन् । यस अघि एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
राष्ट्रिय कीर्तिमान बनाएपनि उनले सेमिफाइनलमा स्थान बनाउन सकेनन् । उनी हिट चरणबाट बाहिरिए ।
यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ७१ खेलाडीमध्ये एलेक्स ५९ औं स्थानमा रहे ।
हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।
यस्तै एलेक्सले हिट चरणबाट बाहिरिदा आफु केहि दुखी भएको समेत बताए । उनले सिक्दै थप राम्रो गर्ने योजना भएको समेत बताए ।
'म केहि दुखी समेत छु । तर, राष्ट्रिय कीर्तिमान बनाउदा खुशी छु । मलाई लाग्छ मैले अझै धेरै सिक्नु पर्नेछ,' उनले थपे ।