काठमाडौं । टोकियो ओलम्पिकमा सहभागिता जनाउने नेपाली पौडी टोली जापानको तोकुशिमा पुगेका छन् ।
ओलम्पिक खेल्ने दुई खेलाडी र एक प्रशिक्षक गरि तीन सदस्सीय नेपाली टोली तोकुशिमा पुगेका हुन् । नेपाली टोलीलाई आयोजक टोलीले स्वागत गरेका थिए ।
टोकियो ओलम्पिकमा पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले प्रतिस्पर्धा गर्ने छन् ।
एलेक्स र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रस्थान गरेका थिए । बेलायतमा बस्दै आएकी गौरिका भने उतैबाट जापान आएकी हुन् ।
पौडी टोलीले तोकुशिमामा विशेष तयारी गर्ने छन् । ओलम्पिक कमिटिले यस अघि नै तोकुशिमा प्रान्तसँग सम्झौता गरिसकेको छ ।
विशेष तयारीपछि नेपाली पौडी टोली जुलाई २० मा ओलम्पिक भिलेजमा सम्मलित हुने छन् ।
टोकियो ओलम्पिकमा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले पनि नेपालको प्रतिनिधित्व गर्ने छन् ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
तस्बिर - मुख्य प्रशिक्षक शंकर कार्की