काठमाडौं । टोकियो ओलम्पिकमा सहभागिता जनाउन पौडीका एलेक्जेन्डर शाह (एलेक्स) सोमबार जापान प्रस्थान गर्ने भएका छन् ।
नेपाल ओलम्पिक कमिटिले एलेक्स र मुख्य प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रस्थान गर्ने जनाएको छ ।
ओलम्पिक कमिटिले गौरिका सिंह भने बेलायतबाटै जापान आउने जनाएको छ । टोकियो ओलम्पिकमा पौडीबाट एलेक्स र गौरिकाले नेपालको प्रतिनिधित्व गर्ने छन् ।
ओलम्पिक कमिटिले आइतबार एलेक्स र शंकरको बिदाइ समेत गरेको छ । ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले उनीहरुलाई बिदाइ गरे ।
जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा विशेष तयारी गर्ने छन् । ओलम्पिक कमिटिले यस अघि नै टोकुशिमा प्रान्तसँग सम्झौता गरिसकेको छ ।
नेपाली पौडी टोली जुलाई २० मा ओलम्पिक भिलेजमा सम्मलित हुने छन् ।
टोकियो ओलम्पिकमा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले पनि नेपालको प्रतिनिधित्व गर्ने छन् ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।