काठमाडौं । आधुनिक ओलम्पिकको जन्मदिनको अवसरमा नेपाल ओलम्पिक कमिटिको आयोजना तथा स्पोर्टस् फर अलको संयोजनमा विविध कार्यक्रम भईरहेको छ ।
५ दिन सम्म नेपालका विभिन्न भुभागमा, खेलाडी, खेल प्रशिक्षक, राष्ट्रिय संघ, स्कुल, तथा विभिन्न क्षेत्रले विभिन्न कार्यक्रमको आयोजना गरि ओलम्पिक डे मनाउँदै आएका छन् ।
लनटेनिस
ओलम्पिक डे मनाउने क्रममा नेपाल लनटेनिस संघले आफ्ना पदाधिकारीकाबीच टेनिस प्रतियोगिताको आयोजना गरेको छ ।
प्रतियोगितामा दिनेश तुलाधरले पहिलो स्थान हात पारे । दोश्रो स्थानमा राजु श्रेष्ठ रहे । यस्तै विकाश जंगबहादुर राणा र केशव राज पाण्डे तेश्रो भए । विजयीहरु संघका उपाध्यक्षहरु हुन् ।
विजयी खेलाडीहरुलाई ओलम्पिक डे का संयोजक एवं स्पोर्टस् फर अलका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।
मैत्रीपूर्ण टेबलटेनिस
ओलम्पियन संघको आयोजनामा ओलम्पियन खेलाडीबीच मैत्रीपूर्ण टेबलटेनिस भएको थियो । जसमा सफल श्रेष्ठले पहिलो स्थान हात पार्न सफल भए । ओलम्पिक कमिटिको केन्द्रिय कार्यालयमा भएको प्रतियोगितामा भारोत्तोलनका कमल अधिकारी दोश्रो भए । यस्तै राजन श्रेष्ठ र टिकाराम श्रेष्ठ संयुक्त तेश्रो भए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठले मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, महासचिव निलेन्द्र श्रेष्ठ, स्पोर्टस् फर अल कमिसनका अध्यक्ष एवं कार्यक्रमका संयोजक बिष्णुगोपाल श्रेष्ठ, ओलम्पिक कमिटीका सचिव रामजी बहादुर श्रेष्ठ, पूर्व सदस्य रमेश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
खुल्ला टेबलटेनिस
ओलम्पिक डे मनाउने क्रममा पोखरामा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ । त्यसै क्रममा पोखरास्थित नौलो घुम्ती नेपालद्वारा संचालित पुरुष लागुपदार्थ परामर्श, उपचार तथा पुनस्थापना केन्द्र धारापानी १८ पोखरामा कर्मचारी तथा सेवार्थीहरुबीच खुल्ला टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । जसमा रुपक थापा पहिलो, पुजन मल्ल दोश्रो, सफल गुरुङ्ग तेश्रो भए । प्रतियोगितामा करिव ४५ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रमको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ्गले निर्णायक केशवराम श्रेष्ठलाई बल तथा ब्याट हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।
जिम्न्यास्टिक सेमिनार
नेपाल जिम्न्यास्टिक संघले ओलम्पिक डे मनाउने क्रममा सेमिनारको आयोजना गरेको छ । नेपालमा जिम्न्यास्टिक खेलको विकास र विस्तार तथा आधुनिक जिम्न्यास्टिकका बारेमा सेमिनारमा जानकारी प्रदान गरिएको थियो ।
पारा खेलाडीबीच टेबलटेनिस
सुदूरपश्चिमाञ्चलमा ओलम्पिक डे मनाउने क्रममा अपाङ्गता भएका विच मैत्रीपूर्ण टेबल टेनिस खेल भएको थियो । अपाङ्गता भएका तथा पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी उपेन्द्र कडायत तथा सुप प्रदेश खेलकुद सदस्य जीवन कुमार भट्टविच खेल भएको थियो । कार्यक्रममा जिल्ला खेलकुदका अध्यक्ष ओम बस्नेत, ओलम्पियन डम्बर दत्त भट्ट, प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।
जुडो संघले मनायो ओलम्पिक डे
नेपाल जुडो संघले केन्द्र तथा डोजोहरुमा विविध कार्यक्रमकाबीच ओलम्पिक डे मनाएको छ । जसमा खेलाडी प्रशिक्षक तथा पदाधिकारी सदस्यहरुले वाकाथन, जुडो खेल प्रदर्शन, आत्मसुरक्षा सम्वन्धि कार्यक्रम र ओलम्पिक डे को केक काटेर जुडोलाई ओलम्पिक संग जोडेको छ ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यको उपस्थिती रहेको थियो ।