काठमाडौं । स्वस्तिश्री गुरुकुल विद्यालयले हिटीङ सिस्टमसहित इन्डोर पौडी पोखरी संचालनमा ल्याएको छ ।
स्वस्तिश्री गुरुकुलले बिहीबार पत्रकार सम्मेलन गर्दै हिटीङ सिस्टम (तातोपानीयुक्त) पौडी पोखरी निर्माण गरिएको जनाएको छ ।
पौडी पोखरीको शनिबार औपचारिक उद्घाटन हुने समेत गुरुकुलले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गर्ने गुरुकुलले जनाएको छ ।
विद्यार्थीहरुले बन्द कोठा भित्रभन्दा बढी समय प्रयोगशालाहरु, खेलकुद मैदान, समुदाय र वातावरणसँग विताउँदै गर्दा सिकाई अझ प्रभावकारी हुने कुरा अध्ययनले देखाएको र सैद्धान्तिक सिकाईभन्दा बढी व्यवहारिक, प्रयोगात्मक र व्यवसायिक शिक्षा दिनु पर्ने भएकोले स्वस्तिश्री गुरुकुलले खेलकुद लगायत अन्य अतिरिक्त क्रियाकलापहरुलाई पनि अभिन्न अंगको रुपमा विकास गर्न खेलकुदका विभिन्न संरचनाहरु निर्माण गरिएको जनाएको छ ।
नागार्जुन सानोभर्याङमा रहेको स्वस्तिश्री गुरुकुल गत वर्षबाट संचालनमा आएको हो ।
संसारभरी नै विद्यार्थीहरुलाई गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा दिने लहर चलेको अवस्थामा पनि नेपालको शिक्षा प्रणालीमा खासै परिवर्तन हुन नसकेको सन्दर्भमा प्रयोगात्मक, व्यवहारिक र व्यवसायिक शिक्षा दिँदै विद्यार्थीहरुको सिर्जनशिलताको विकास गर्ने र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक तयार गर्ने उद्देश्यले स्वस्तिश्री गुरुकुल सञ्चालनमा ल्याइएको हो ।