काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको कार्यसमिति बैठकले महिला तथा पुरुष खेलाडीको तलब बृद्धि गर्दै दुवैको तलब समान गरेको छ ।
यसअघि पुरुष खेलाडीले जनही १५ हजार र महिला सदस्यले ७ हजार रुपैयाँ तलब प्राप्त गर्दै आएका थिए । एन्फाको कार्यसमितिले निर्णय गर्दै खेलाडीको तलब बृद्धिसँगै समान बनाउने पनि निर्णय गरेको हो ।
यो निर्णयसँगै महिला तथा पुरुष खेलाडीले एन्फाबाट मासिक तलब १८ हजार प्राप्त गर्नेछन् ।
यसअघि युरोपका केही देशले महिला पुरुषको तलब बराबर गरेसँगै नेपालमा समेत माग उठ्न थालेको थियो । राष्ट्रिय महिला टिमका खेलाडीले समेत तलब वृद्धिको माग गर्दै पुरुष बराबर तलब हुनुपर्ने बताएका थिए ।
खेलाडीको तलब बढाउने विषयमा एन्फा केही पदाधिकारीले सार्वजनीक रुपमा आवाज समेत उठाएका थिए ।
एन्फाको यस निर्णयबाट महिला खेलाडी भने उत्साहित देखिएका छन् । एन्फाको निर्णय स्वागत योग्य रहेको बताउँदै उनीहरुले जिविकोपार्जनमा यसले सहयोग पुर्याउने उल्लेख गरे ।
केहि खेलाडीले भने तलबसँगै मैत्रिपूर्ण खेल र महिला प्रतियोगिताको समेत संख्या वृद्धि गर्नुपर्ने बताएका छन् ।
सावित्रा भण्डारी (स्ट्राइकर)
यो राम्रो निर्णय हो । यसका लागि एन्फालाई धन्यवाद । यो एउटा हौसलाको पाटो पनि हो । यसअघि जिल्लाका खेलाडीसँगै विभागका खेलाडीले पनि मेहनत गर्न छाडेका थिए ।
एन्फा र विभागका खेलाडीको तलबले आफ्नो रोजी रोटी नचल्दा समस्या हुने गरेको थियो । जसले गर्दा खेल्नुको औचित्यनै थिएन । यो निर्णयले नयाँ पुस्तालाई निकैनै हौसला प्रदान गर्नेछ । तलबकै कारण पनि खेलाडीबीच राष्ट्रिय टिममा पर्न प्रतिस्पर्धा हुनेछ ।
यसैका कारण खेलाडीले धेरै मेहनत पनि गर्छ । यसका गर्दा नयाँ पुराना खेलाडीको मुलको ढोका खोलेको महुशुश भएको छ । खेलाडीमा निकै समस्या छ । तलब वृद्धि हुँदा यति चाँही भयो भन्ने छ ।
पैसा भएपछि आफ्नो योजना पनि बढिरहेको छ । तलबका कारण घरपरिवार हेर्न पनि सकिन्छ । तलब बढेको समाचार पढ्ने बित्तिकै घरमा बुबालाई फोन गरे । खुसी हुनुभयो ।
एन्जिला तुम्बोप्पो सुब्बा (गोलरक्षक)
एकदमै खुसी लागेको छ । एन्फाका सबैलाई धन्यवाद दिन चाहन्छु । आउँदा दिनमा पनि यसरीनै समान ब्यवहार होस् । यो तलब वृद्धिले अब निकै सहयोग गर्छ । पहिलाको तलब र विभागको तलबले पनि सहज थिएन ।
आफुलाई आवश्यक पर्ने बुट लगायत स्वास्थ्यको लागि डाईट खाँदा पैसा नपुग्ने अवस्था आउँथ्यो । अब भने सहज हुन्छ । अब, खेल लगातार र धेरै भन्दा धेरै भए हामीले अझै आफुलाई प्रमाणित गरेर देखाउँछौं ।
दिपा राई (मिडफिल्डर)
तलब बढ्दा निकै खुसी छु । एन्फालाई धन्यवाद भन्न चाहन्छु । अव एन्फाको निर्णयसँग हामीलाइै खर्च गर्न धेरै सहयोग हुन्छ । डाईट खानको लागि पनि सहयोग हुन्छ । घरपरिवारमा पनि त्यतिकै सहयोग हुन्छ ।