एजेन्सी । चार पटकका ओलम्पिक च्याम्पियन बेलायतका मो फराह र सिफान हसनले ब्रसेल्समा भान डेम मेमोरियल मिटिङ्गमा एक घण्टाको दौडमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।
कोरोना भाइरसको महामारीको कारण दर्शक बिना आयोजना गरिएको दौड प्रतिस्पर्धामा नेदरल्याण्डकी हसनले महिलातर्फ इथोपियाकी डिरे टूरेको १८ दशमलव ५२ किलोमिटरको रेकर्ड सुधार गर्दै १८ दशमलव ९३ किलोमिटरको दुरी पार गरिन् ।

डिरेले सन् २००८ मा ओस्त्रावा गोल्डन स्पाइक मिटिङ्गमा सो रेकर्ड बनाएकी थिईन् ।
मिटिङ्गको अन्तिम दौड डायमण्ड लिग सिरिजको समेत एक भागको रुपमा लिईएको थियो । फराहले हेले गेब्रेसेलास्सीको १३ बर्षको कीर्तिमानलाई भंग गरे ।

गेब्रेसेलास्सीले २१ दशमलव २९ किलोमिटर दौडको रेकर्ड कायम गरेका थिए । बशीर अब्दीसंग दौडिएका सोमालियाली मुलका ब्रिटिस धावक फराहले २१ दशमलव ३३ किलोमिटरको दुरी पार गरे ।
उनले अब्दीलाई ८ मिटर पछाडी छाडेका थिए ।