काठमाडौं । कोरोना भाईरसबाट संक्रमित स्क्वास टिमका प्रशिक्षक हिराबहादुर थापाले दैनिक रुपमा कसरत गरेरै निको हुने आत्मविश्वास देखाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रशिक्षक समेत रहेका हिरालाई सोमबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । हाल उनी स्क्वास संघकै भवनको एकान्तवासमा रहेका छन् ।
संक्रमण पुष्टि भएको दोस्रो दिन खेलपाटीसँग बोल्दै प्रशिक्षक हिराले आफुलाई संक्रमणको कुनै लक्षण देखा नपरेको उल्लेख गर्दै दैनिक कसरत गरेरै राेग ठिक पार्ने बताए ।
‘अहिले मलाई कुनै समस्या छैन । सबै ठिक छ । कुनै पनि लक्षण देखा परेकै छैन । खेलमा छिटै फर्कन्छु । कुनै पनि हालमा कसरत गरेरै ठिक पार्छु ।’ सातदोबाटोस्थित स्क्वास भवनबाट थापाले खेलपाटीसँग भने ।
यसअघि संघका उपाध्यक्ष समेत रहेका मनोज बहादुर श्रेष्ठलाई कोरोना देखिएपछि संघका ८ जनाले स्टार हस्पिटलमा कोरोना परिक्षण गराएका थिए । जसमध्ये हिरालाई मात्रै संक्रमण देखिएको छ ।
संक्रमण देखिएको २४ घण्टा भएपनि उनलाई अस्पतालमा भर्ना गरिएको छैन । अस्पतालबाट लिन आउने भनेका थिए, तर उनीहरुले सम्पर्क गरेका छैनन् । अन्य चेकअप समेत भएकाे छैन ।
कोरोना कसरी सर्यो भन्नेमै हिरा जानकार छैनन् ।
‘कसरी सर्याे भन्नेनै छैन । उहाँ (उपाध्यक्ष मनोज ) आउनु हुन्थ्यो । उहाँलाई केही शंका लागेपछि चेक गराउनु भयो । उहाँलाई देखिएपछि सँगै खेल्दै आएका ८–९ जनालेनै परिक्षण गरायौं । जसमा मेरो मात्रै पोजिटिभ आयो ।’ थापाले भने ।
थापा ६० सालपछि राखेपको प्रशिक्षकको रुपमा कार्यरत छन् । हाल उनी राखेपको करार कर्मचारी हुन् । उनको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता दुई कास्य जितेको थियो । टिम प्रतिस्पर्धातर्फ महिला–पुरुष दुबैले कास्य हात पारेका हुन् ।
गोर्खा लखन थापा गाउँपालिका निवासी थापा ४५ सालयता काठमाडौंमा छन् । खेलाडी छँदै उपत्यका छिरेका उनका एक छोरा र एक छोरी छन् । परिवार हाल स्वाक्स भवनमा बस्दै आएका छ ।
हिराको एउटै कामना छ, आफुसंग सम्पर्कमा रहेका परिवारमा कोरोना नदेखियोस् ।
‘मलाई त देखिसक्यो । अब डर भनेको सम्पर्कमा रहेका परिवारमा नदेखियोस भन्ने हो । म जसरी पनि ठिक हुन्छु । तर अरुमा फैलिन भएन ।’ उनी भन्छन् ।
प्रशिक्षक हिरा खेलकुद क्षेत्रमा कोरोना देखिने पहिलो ब्यक्ति पनि हैनन् । यसअघि पूर्व क्रिकेट खेलाडी पवन दासलाई समेत कोरोनाको संक्रमण देखिसकेको छ ।
आफुलाई कोरोना देखिएसँगै प्रशिक्षक हिराले अन्यलाई इन्डोर खेल नखेल्न र नखेलाउन आग्रह गर्न थालेका छन् ।
इन्डोरमा खेल्दा धेरै पसिना बग्ने र स्वास प्रस्वासमा समेत समस्या हुँदा त्यसबाट खतरा रहेको हिराको अनुमान छ ।
‘खेलाडी, प्रशिक्षकले पसिनामा सम्पर्क हुने गरि नखेल्नु होला । दूरी कायम गर्नुहोला । इन्डोर गेम अहिले नगर्नु होला । इन्डोरमा अक्सिजन कम हुन्छ । स्वास प्रस्वासमा गाह्रो हुन्छ । खेल भन्ने पछि पनि हुन्छ । मान्छेको शरिर बाँच्यो भने खेल्न पाईन्छ ।’ उनी भन्छन् ।